बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुने

जनपत्र
९ बैशाख २०७८, बिहीबार ०७:०१

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक ९ घण्टा सवारी आवतजावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए । ‘म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।’

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किलोमिटर सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । करीब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विक्रम संवत् २०७४ सालबाट निर्माण शुरू भएको हो । ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

आयोजनाले जोमसोम–कोरला सडकको ७ प्याकेजमध्ये ४ प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*