समृद्धी ल्याउने बजेट तयार गर्न सुझाब

हेटौंडा / संघिय सरकारले आगामी आर्थिक बर्षका लागि बजेट बनाउँदा जनताले समृद्धीको अनुभूति गर्ने गरी बजेट तयार गर्नका लागि प्रदेश नम्बर ३ बाट सुझाब दिइएको छ । संघिय संसदको अर्थ समितिले आज हेटौंडामा प्रदेश स्तरीय सुझाब संकलनका क्रममा सहभागिले कनिका छर्ने बजेट भन्दा पनि आम नागरिकले बिकाशको अनुभुति गर्ने बजेट तयार गर्नका लागि सुझाब दिएका हुन् । कार्यक्रममा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बजेट निर्माणका लागि प्राप्त सुझावहरु सरकारलाई पेश गर्ने भन्दै आवश्यक सम्बोधनका लागि समितिले सरकारलाई निर्देशन दिने बताउनुभयो ।
आम जनताको तहसम्म बजेट पुग्नु पर्ने भन्दै उहाँले सरकारले आगामी आवको बजेट निर्माणमा यस तर्फ ध्यान दिनु पर्ने बताउनुभयो । यस्तै, पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले राजश्व बाँडफाँटमा समस्या देखिएको भन्दै यस तर्फ सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । बजेट विकासमुखी हुनु पर्ने भन्दै उहाँले सरकारले आगामी आर्थिक वर्षका लागि आम जनतासम्म पुग्ने बजेट ल्याउनु पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमा क्रमभंगता गर्नु पर्ने बताउनुभयो ।
निरन्तरताको बजेटले विकास नहुने भन्दै उहाँले आवश्यकता निर्धारण गरेर बजेट बनाउनु पर्ने बताउनुभयो । बैशाख १ गतेबाट नयाँ आर्थिक वर्षको सुरुवात गर्नु पर्ने धारणा राख्दै उहाँले यसो हुन सकेमा बजेट कार्यान्वयन हुने बताउनुभयो । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जनताको अपेक्षा धेरै भएको र सरकारले त्यसको लागि काम गरिरहेको बताउनुभयो । बजेट बनाउने समयमा कर्मचारीको अभाव भएको भन्दै उनले आर्थिक मामिला मन्त्रालयमा सचिव नभएको डेढ महिना भएको बताउनुभयो । कर्मचारी अभावका कारण बजेट निर्माणमा समस्या देखिएको भन्दै उहाँले केन्द्र सरकारले यो विषय तत्काल सम्बोधन गर्नु पर्ने माग राख्नुभयो । यस्तै, प्रदेश नबर ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बजेट राम्रा बनेपनि कार्यनयनमा समस्या हुने गरेको बताउनुभयो । अहिले पनि असार महिनामा बजेट खर्च गर्ने परिपार्टी कायम रहेको बताउनुभयो ।