विद्रोहीसँग भएको मुडभेढमा घाइते भएका चाडका राष्ट्रपति इद्रिसको मृत्यु, तीन दशकभन्दा बढी समयदेखि सत्तामा थिए

विद्रोहीसँगको मुडभेढमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ। उनी तीन दशकभन्दा बढी समयदेखि चाडको सत्ता नेतृत्व गरिरहेका थिए। ६८ वर्षीय इद्रिस गत साता मुलुकको उत्तरी क्षेत्रमा विद्रोही समूह ‘फ्याक्ट’सँग भइरहेको लडाईमा अग्रपंक्तीमा प्रस्तुत भएका थिए। सोहीक्रममा उनी घाइते भएको चाडका सैन्य अधिकारीहरुले बताएका छन्। चाडको सरकार र संसद विघटन गरिएको छ।
सन् १९९० मा भएको सैन्य कुमार्फत इद्रिस सत्तामा आएका थिए। ‘ डेबीले सार्वभौम राष्ट्रको रक्षाका लागि युद्ध मैदानमा भिड्दाभिड्दै अन्तिम सास फेर्नु भयो’, चाडका सैन्य अधिकारीको भनाई उदृत गर्दै बिबिसिले जनाएको छ।
चार तारे जर्नेल रहेका डेबीका ३७ वर्षीय छोरा महमत इद्रिस डेबी नेतृत्वको सैन्य परिषद्ले अबको १८ महिना चाडको सत्ता सन्चालन गर्ने जनाइएको छ। ‘संक्रमणकाल सकिएपछि स्वतन्त्र र प्रजातान्त्रिक तरिकाले निर्वाचन हुन्छ’, चाडको सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ।