भत्कियो युरोपियन सुपर लिगको सपना, चौतर्फी विरोधपछि बाहिरिए ६ इंग्लिस क्लब

जनपत्र
८ बैशाख २०७८, बुधबार ०७:०६

विदास्पद युरोपियन सुपर लिगमा सामेल हुने घोषणा गरेका इंग्लिस प्रिमियर लिगका ६ क्लबले आफ्नो निर्णय सच्याएका छन् । उनीहरुले प्रस्तावित सुपर लिगबाट बाहिरिने घोषणा गरेका हुन् । म्यानचेस्टर सिटीले सबैभन्दा पहिले बाहिरिने निर्णय गरेको थियो । चेल्सीले प्रतियोगितामा नरहेन प्रयोजनका लागि कागजात तयार पारेको थाहा पाएपछि म्यानचेस्टर सिटीले बाहिरिने निर्णय गरेको थियो ।

म्यानचेस्टर सिटी र चेल्सीपछि अरु चार क्लब आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनह्यामले पनि प्रतियोगिता नखेल्ने घोषणा गरेका हुन् । गएको आइतबार बेलायत, स्पेन र इटालीका १२ क्लब मिलेर नयाँ युरोपियन सुपर लिग ९इएसएल० को घोषणा गरिएको थियो ।

च्याम्पियन्स लिगलाई चुनौति दिने गरि घोषित प्रतियोगिताको चौतर्फी आलोचना भएको थियो । फुटबल प्रेमीहरुले प्रदर्शन गरेका थिए । बेलायत सरकारले पनि चासो व्यक्त गरेको थियो । राजपरिवारका सदस्यले समेत इएसएलप्रति गम्भीर चासो व्यक्त गरेर फुटबलको गरिमा जोगाउनु पर्ने उल्लेख गरेका थिए ।

प्रतियोगिताबाट बाहिरिने घोषणा गरेको आर्सनलले आफ्ना समर्थकलाई खुला पत्र लेखेर आफूहरुबाट प्रतियोगितामा सामेल हुने निर्णय लिएर गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ । टोटनह्यामले आफूहरुका कारण समर्थकमा उत्पन्न भएको चिन्ता तथा वितृष्णाप्रति माफी मागेको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएका अध्यक्ष एलेक्सान्डर सेफरिनले प्रिमियर लिगका ६ क्लबको इएसएलबाट बाहिरिने घोषणाको स्वागत गरेका छन् । उनले यसअघि प्रतियोगितामा सामेल हुने क्लबका खेलाडीलाई विश्वकप तथा युरोकप खेल्न नपाउने गरि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका थिए ।

इंग्लिस प्रिमियर लिगका आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम, ला लिगाका एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोना तथा इटालियन सिरी ए का एसी मिलान, इन्टर मिलान र युभेन्टसले इएसएलमा सहमति जनाएका थिए ।

आ–आफ्नो घरेलु लिगमा प्रतिस्पर्धा जारी रहने गरि हप्ताको मध्यमा प्रतिस्पर्धा गर्ने गरि नयाँ लिगका लागि क्लबहरु सहमत भएका थिए । इएसएलको पहिलो सिजन जतिसक्दो चाँडो सुरु हुने र त्यसमा अरु तीन क्लब पनि सामेल हुने सम्भावना रहेको बताइएको थियो । आइतबार इएसएलको खबर बाहिर आएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युइएफए र प्रिमियर लिगले निन्दा गरेका थिए ।

आलोचकहरुले इएसएल पूर्णरुपमा पैसामा केन्द्रित भएर गरिएको निर्णय रहेको बताएका थिए । इएसएलमा हरेक वर्ष १५ वटा उही क्लब हुने नियम थियो । बाँकी पाँच क्लब हरेक वर्ष छनौट गरिने जनाइएको थियो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यसअघि नै सो खालको प्रतियोगितालाई आधिकारिकता नदिने बताइसकेको थियो ।

सबै क्षेत्रबाट निन्दा भएपछि इएसएल धरापमा परेको हो । अब ६ इंग्लिस क्लब सामेल नहुने भएपछि प्रयोगिताको सम्भावना तत्कालका लागि टरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*