फोनमा गोपनीयता राख्न ‘गेस्ट मोड’ र ‘स्क्रिन पिनिङ’ फिचरबारे जान्नैपर्ने कुरा

मोबाइल अब व्यक्तिको सम्पत्ति नै हो भन्दा फरक नपर्ला । किनभने स्मार्टफोनसँग प्रयोगकर्ताको हरेक कुरा जोडिएको हुन्छ । आर्थिकदेखि सामाजिक र व्यक्तिगत जानकारी सबै फोनमै हुने भएकाले पनि त्यसको सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो ।
त्यसैले पनि कसैले फोन माग्दा झिकेर दिइहाल्ने अवस्था छैन । तर, कहीलेकाहिँ भने यस्तो अवस्था आइदिन्छ, जहाँ आफ्नो फोन अरुलाई प्रयोग गर्न दिनैपर्छ । यस्तो अवस्थामा हतार हतार म्यासेज डिलेट गर्ने, कल लग डिलेट गर्ने, फोटोरभिडियो छ भने डिलिट गर्नुपर्ने हुनसक्छ । यसको विकल्प ‘एप लक’ छ त भन्न सक्नुहोला । पक्कै पनि एप लक एउटा विकल्प हो । तर, त्यो भन्दा पनि महत्वपूर्ण फिचर फोनमा उपलब्ध हुँदा हुँदै हामी कतिपयले प्रयोगमा नल्याएका पनि हुन सक्छौं । त्यो हो ‘गेस्ट मोड’ अथवा ‘सेकेण्ड स्पेस’ ।
धेरै जसो फोनमा यो फिचर गेस्ट मोडकै रुपमा उपलब्ध हुन्छ भने, कतिपय स्मार्टफोनमा यो फिचर सेकेण्ड स्पेसको रुपमा रहेको छ । यो ल्यापटप तथा डेस्कटपको जस्तै फिचर हो । तपाईंले त्यसका लागि मोबाइल सेटिङमा गएर ‘स्पेसल फिचर’ भित्र रहेको गेस्ट मोड’ अथवा ‘सेकेण्ड स्पेस’ अन गर्न सक्नुहुनेछ । जुन तपाईंकै मोबाइल भित्रै अर्को स्पेस क्रिएट हुनेछ । त्यसका लागि तपाईंले छुट्टै पासवर्डका साथै सेकेण्ड स्पेसमा जानका लागि आफूलाई अनुकूल पर्ने सर्ट की राख्न सकिन्छ ।
उक्त सर्ट की मा क्लिक गरी सहजै तपाईंले अन्य व्यक्तिलाई मोबाइल दिन सक्नुहुनेछ । त्यति मात्रै होइन, गोपनियाताकै लागि अर्को पनि फिचर स्क्रिन पिनिङ रहेको छ । यसका लागि फोन सेटिङ्समा जानुहोस् र ‘सिक्योरिटी एण्ड लोकेशन’ मा क्लिक गर्नुहोस् । यस पछि, स्क्रिन पिनिङ खोल्नुहोस् । त्यसमा तपाईंले कुनै पनि एपलाई पिन गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा तपाईंको फोन अरु कसैलाई दिएमा तपाईले स्क्रीनमा पिन गरेको एपमात्र सो व्यक्तिले देख्न सक्नेछ । टेकपानाबाट