मनहरीका आधा दर्जन मुल सडक प्राथमिकताकासाथ निर्माण

मनहरी गाउँपालिकाको जिर्ण रहेका मूल सडकलाई निर्माण गर्दै नागरिकलाई ओहोर दोहोर गर्न सहज बनाउन लागिएको छ । गाउँपालिकाको ठुलो लगानी पनि मुल सडकलाई गरिएको छ ।
जनपत्र
३ बैशाख २०७८, शुक्रबार ०७:१६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सडक निर्माणका कामले तिब्रता पाएका छन् । बिशेषगरी मनहरीका मुलसडक निर्माण गर्न गाउँपालिकासंगै बागमती प्रदेश सरकार र संघीय सरकारको बजेट पनि खर्च गरिएको छ । गाउँपालिका भित्रका मुल सडक निर्माण गर्नका लागि चार वर्षको अवधिमा गाउँपालिकाले पनि ठुलै रकम खर्च गरेको छ । गाउँपालिकाको मुलसडकमा अरु साना सडक जोडिएका छन् । सडक पक्की निर्माण गर्ने कामले पनि यो अवधिमा तिब्रता पाएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर–३ लामिटार देखि वडा नम्बर–१ चकरी सम्मको १७ किलोमिटर सडक निर्माण गर्नका लागि तीनै तहका सरकारको लगानी परेको छ । यस क्षेत्रको यो मुल सडकलाई फराकिलो पार्ने, नाली निर्माण, स्लाब ढलान, ग्राभेलिङ गर्ने लगाएतका काम गरिएको छ । चारवर्षमा यस सडक निर्माण गर्नका लागि गाउँपालिका सहित प्रदेश र संघको बजेट समेत गरेर नौ करोड रुपैयाँ लगानी गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । यो सडक निर्माणको काम अहिले पनि भइरहेको छ । यो सडकबाट मनहरीको वडा नम्बर १ देखि ४ सम्मका वासिन्दाहरुलाई फाइदा पुगेकोे छ ।

मनहरी गाउँपालिका वडा नम्बर–६ को रुपाचुरी फरिवाङ सडक निर्माणलाई पनि गाउँपालिकाले तिब्रता दिएको छ । अत्यन्त विकट क्षेत्रको यस गाउँमा सडक पुगेपछी स्थानीय वासिन्दाहरु निकै खुसी भएका छन् । सडक पुगेपछी विजुली पुग्ने, गाउँका उत्पादन मनहरी बजार सम्म ल्याउने र बजारबाट दैनिक उपभोग्य सामान गाउँसम्म लग्नका लागि सजिलो भएको स्थानीय वासिन्दाहरु वताउँछन् ।

राक्सीराङ गाउँपालिकामा जोड्ने लक्षका साथ यस सडककोे काम भइरहेको छ । यो सडकमा दुइतिरबाट काम भइरहेको र यस क्षेत्रका नागरिकलाई सदरमुकाम सम्म आउनका लागि सहज बनाइएको अध्यक्ष उप्रेतीले वताउनुभयो । मनहरीको लोथरबाट पनि फरीवाङ जोड्नका लागि काम भइरहेको छ । चारवर्षको अवधिमा यस सडकको ट्रयाक खोल्ने, सफाइ गर्ने, कटिङ गर्ने, अप्ठेरो स्थानमा स्लाब ढलान गर्ने, नाली निर्माण, साघुरो स्थानमा तलबाट जाली निर्माण गर्ने लगाएतका काम गरिएको छ । २५ किलोमिर लामो सडकमा हाल सम्म ३ करोड रुपैयाँ खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौलागाईले वताउनुभयो । यस सडकबाट अब राक्सीराङ गाउँपालिकाका केही वडा र मनहरी ६ का वासिन्दाहरुले प्रतक्ष रुपमा फाइदा पुगेको छ ।

यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–५ दर्दरा देखि चौडाखोला सम्मको चार किलोमिटर मुल सडकलाई पनि थप सुधार गर्नका लागि काम भएको छ । गाउँपालिकाले यस सडक निर्माणमा बिशेष चासो समेत दिएको छ । चार वर्षको अवधिमा सडकका केही भाग पिच, केही भागमा स्लाब ढलान, नाली निर्माण, ग्राभेलिङ गर्ने लगाएतका काम गरिएको चौलागाईले वताउनुभयो । यस सडक निर्माणमा चार वर्षमा २ करोड ५० लाख रुपैयाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर–७ मानेडाँडा रमौली सडक निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । चार वर्षमा ३ करोड रुपैयाँ लगानीमा सडकका अप्ठेरो स्थानमा स्लाब ढलान गरिएको, ग्राभेल भर्ने र केही भागमा वाल उठाउने काम भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । यस सडकलाई पर्यटकिय सडकका रुपमा समेत विकास गर्न खोजीएको छ ।

यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–१ भुमिनन्दचोक देखि मकरीको बिद्यालय सम्मको सडकलाई पक्की बनाउने अभियानका साथ काम भइरहेको छ । बितेको आर्थिक वर्ष र यस आर्थिक वर्षमा सडकको पिच गर्ने कामलाई तिब्रता दिइएको छ । दुइ वर्षमा गाउँपालिकाले २५ लाख रुपैयाँ मात्र लगानी गर्ने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*