भक्तपुरमा युवकको हत्या

जनपत्र
३ बैशाख २०७८, शुक्रबार ०७:०१

भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं। ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताए ।

विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो । मृतक राई आशिष खुलाल, महोत्तरी जिल्ला घर भइ मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बलसँग सिपाडोल गएको प्रहरी अनुसन्धानमा खुलेको छ । ‘खुलाललाई भेटेर गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीको क्रममा वादविवाद भई झै–झगडा भएको देखिन्छ,’ डीएसपी गिरीले भने ।

झगडाको क्रममा खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि योञ्जन र बल झ्यालबाट भाग्न सफल भएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले राईको हत्या गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ९ गोठाटार स्थायी घर भई सूर्यबिनायक नगरपालिका वडा नं। ८ सिपाडोल गाई पालन गर्ने गोकुल बहादुर खुलालको छोरा वर्ष २० का आशिष खुलाललाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रहरीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*