मकवानपुरगढीमा अमेरिकी फौजी कीरा: फेरोमेन पासोको प्रयोग प्रभावकारी

हेटौंडा – मकवानपुरको विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्। मकैबालीमै भर पर्नुपर्ने मकवानपुरका ग्रामिण भेगका किसानहरू यो वर्ष सोचे अनुरुप मकै उत्पादन नहुने भएपछि चिन्तामा परेका छन्।
बिशेष गरी अमेरिकी फौजी कीराको प्रकोप मकवानपुरगढी गाउँपालिका अधिकाशं क्षेत्रमा लगाएको मकैबालीमा देखिएको छ । गाउँपालिकाका किसानहरुको समस्यालाई मध्यनजर गर्दै अमेरिकी फौजी कीराले क्षती पु¥याउन थालेपछि नियन्त्रण प्रयास थालिएको छ । कीरा नियन्त्रणको लागि फेरोमेन पासो प्रयोगमा ल्याईएको हो ।
अमेरिकी फौजी कीरा नियन्त्रणमा फेरोमेन पासो प्रयोग प्रभावकारी रहेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए। उनले भने– “यसले कस्तो काम गर्ने रहेछ भनी कृषक भगवान शाहको खेतमा हेर्न पुग्दा पासोमा अनुमान गरेको भन्दा धेरै नै किरा परेको रहेछ ।” मकै उम्रने बेला देखिनै फेरोमेन पासोको प्रयोग गर्न सकेमा अमेरिकन फौजी कीरा रोकथामको एउटा प्रभापकारी उपाय हुने दाबी गरे ।
गाउँपालिकामा माटो, किसानले लगाएका खाद्यान्न तथा नगदे बालीहरुमा विभिन्न प्रकारका कीरा र रोग देखिएपछि मंगलवार प्लान्ट क्लिनिक (बाली उपचार) शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा गाउँपालिका वडा न.६, बाग्दलीमा गरिएको एक दिने बाली उपचार शिविरमा मकैबालीमा लाग्ने अमेरिकन फौजीकिराको लागि २० वटा फेरोमेन पासो वितरण गरिएको थियो ।
शिविरमा मकै, भन्टा, माच्छे खुर्सानी, बन्दा, भट्मास, गोलभंडा, काँक्रो, करेला, फर्सी, खाद्यान्न तथा नगदे बालीमा लागेका रोग तथा कीराको पहिचान गरिएको थियो। मुख्यतया मकैबालीमा अमेरिकन फौजी किरा र फेदकटुवा कीरा प्रकोपको रुपमा देखिएको थियो ।
त्यस्तै भन्टाको गवारो, खुर्सानीमा ओइलाउने समस्या, बन्दाको पुतली, र लहरे तरकारीमा माइट्स र लिफ माइनर किरा तथा रोगहरुमा पाउडरी र डाउनी मिल्डेउ देखिएको थियो ।प्लान्ट क्लिनिक शिबिरमा गाउँपालिकाका किसानले ल्याएका रोग तथा किरा लागेका बालीनानी ४८ वटा नमूना परीक्षण गरिएको कृषि प्राविधिक चौधरीले बताए । प्रहरखवरबाट ।