मकवानपुरगढीमा बाली उपचार शिविर

हेटौंडा – बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि मकवानपुरगढी गाउँपालिकामा प्लान्ट क्लिनिक (बाली उपचार) शिविर सञ्चालन गरिएको छ।
गाउँपालिकाका विभिन्न वडाका किसानले लगाएका खाद्यान्न तथा नगदे बालीमा लागेका किरा तथा रोगको पहिचान गर्दै उपचारका लागि मकवानपुरगढी गाउँपालिका वडा न.६, बाग्दलीमा एक दिने प्लान्ट क्लिनिक शिविर सञ्चालन गरिएको हो। शिविरमा मकै, भन्टा, माच्छे खुर्सानी, बन्दा, भट्मास, गोलभंडा, काँक्रो, करेला, फर्सी, खाद्यान्न तथा नगदे बालीमा लागेका रोग तथा किराको पहिचान गरिएको थियो।
मुख्यतया मकै बालीमा अमेरिकन फौजी किरा र फेदकटुवा किरा प्रकोपको रुपमा देखिएको थियो । त्यस्तै भन्टाको गवारो, खुर्सानीमा ओइलाउने समस्या, बन्दाको पुतली, र लहरे तरकारीमा माइट्स र लिफ माइनर किरा तथा रोगहरुमा पाउडरी र डाउनी मिल्डेउ देखिएको थियो ।बालिनालीमा देखिएका समस्याहरुको बारेमा कृषकहरुलाई प्राविधिक सल्लाहका साथै फौजी किराको पासो र विषादी समेत वितरण गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा मंगलवार सञ्चालन गरिएको प्लान्ट क्लिनिक शिबिरमा गाउँपालिकाकाका किसानले ल्याएका रोग तथा किरा लागेका बालीनानी ४८ वटा नमूना परीक्षण गरिएको कृषि प्राविधिक चौधरीले बताए । प्रहरखवरबाट ।