राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

जनपत्र
२२ चैत्र २०७७, आईतवार ०७:१०

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ देशको आवश्यकता र संसद्को गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता सार्ने प्रयास हुने बताए । ‘व्यक्तिका स्वार्थको खेलबाट राजनीतिक अंकगणित देशको आवश्यकता विपरीत गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्न थियो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अहिले पनि संसद्को अंकगणितले देश अगाडि जान नसक्ने भन्दै ताजा जनादेशबाट पनि हेरफेर गर्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा पनि आउन सक्ने बताए । प्रधानमन्त्री ओलीले दिनैपिच्छे विभिन्न पक्षले आफ्नो राजीनामा माग्ने गरेको र सञ्चारमाध्यमले त्यसलाई नै मुख्य समाचार बनाउने गरेको भन्दै गुनासो पोखे । ‘राजीनामा आज मागेको हो र । राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु रु’ उनले भने ।

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने तर राजीनामा भने माग्ने गरेको उनको भनाइ छ । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ उनले कार्यक्रममा भने । सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको हो ।

तीन वर्षभित्र २ हजार २ सय १० किलोमिटर नयाँ सडक बन्ने

सरकारले आगामी तीन वर्षभित्र २ हजार २ सय १० किमी सडक निर्माण र विस्तार गर्ने भएको छ । प्राथमिकताका आधारमा छनोट भएका १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजना तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप २ हजार २ सय १० किलोमिटर सडक निर्माण सम्पन्न भइसक्ने बताए । यी आयोजनाको लागत ५७ अर्ब १० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

‘आजबाट पूर्वाधार र सडक निर्माणका क्षेत्रमा नयाँ चरणको अभियानको थालनी भएको छ,’ नेम्वाङले भने, ‘निर्वाचन क्षेत्रलक्षित सडक पूर्वाधार निर्माणको कामलाई हामीले तीन वर्षभित्र सक्ने भनेका छौं । यसबाट कम्तीमा दुई लेनको २ हजार २ सय १० किलोमिटर सडक कालोपत्रे हुन्छ ।’ राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*