कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका काममा तीव्रता दियाे
काठमाण्डाै – कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले पूर्वतयारीका थप कामहरू थालेको छ । गएको एक हप्तामा मात्रै ३८ प्रतिशतले सङ्क्रमित बढेपछि परीक्षण, उपचार तथा सावधानीका लागि थप तयारी थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बुधवार बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने र सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
यस्तै पीसीआर क्षमता बढाउने र काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरूकाे आवश्यकताअनुसार परीक्षण र क्वरेण्टीनमा राख्ने काम सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।
मन्त्रालयले ठूलो सङ्ख्यामा मानिसको भेला पूर्णरूपमा रोक्न जुलुस, भिडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।