एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

मकवानपुर — बुधबार बस्न लागेको एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा पार्टीभित्रको अन्तरसंघर्षको असर देखिने भएको छ । पार्टीभित्र जारी प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको अन्तरसंघर्षको असर पार्टी संसदीय दलको बैठक बस्नु अगाडि नै देखिन सुरु भइसकेको छ ।
संसदीय दलको बैठक अगाडि नै ओली समूह र नेपाल समूहको रुपमा विभाजन भएर दुवै पक्ष आ–आफ्ना रणनीति बनाउन व्यस्त छन् ।ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने संसदीय दलको बैठकमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेपाल समूहमाथि आक्रमक रुपमा प्रस्तुत हुने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेलको समूह रहेको छ । तत्कालीन नेकपाका नेपाल पक्षका २२ र माओवादीका २३ जना सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्था बैठकको मुख्य ऐजेण्डा भए पनि तत्काल औपचारिक रुपमा अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन बैठकमा दबाब दिने गरी पौडेल समूहले तयारी गरिरहेको छ ।
एमाले मुख्य सचेतक केशवराज पाण्डेले अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन पत्राचार गरिसकेको बताए । ‘हस्ताक्षर गर्नुभएका साथीहरुलाई फिर्ता लिन औपचारिक रुपमा आग्रह गरिसकेका छौं । यस विषयमा बैठक केन्द्रित हुनेछ,’ उनले भने । लिखितरुपमा अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिएको जानकारी संसदीय दलको बैठकमा गराउन सांसदहरुलाई आग्रह गरिने उनले बताए । ‘अब हामी एउटै दल भएका छौं । यस विषयलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ मुख्य सचेतक पाण्डेले भने । अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिएको खण्डमा पार्टीको विधानअनुसार कारबाही गरिने उनको भनाइ छ ।
मुख्यमन्त्री पौडेल निकट सांसद दीपक निरौलाले तत्काल औपचारिकरुपमा अविश्वासको प्रस्ताव फिर्ता लिएर सरकार र सदनलाई गतिशील रुपमा काम गर्न दिने वातावरण तयार गर्न लागिएको बताए । ‘अहिले चारवटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा रहेको छ । संसदीय दलको विधान तयार गरेर सदनलाई बिजनेस दिनेतर्फ केन्द्रित हुनु अहिलेको आवश्यकता हो,’ उनले भने ।
नेपाल निकट समूहका सांसद पशुपति चौलागाईंले आफूहरु संसदीय दलको बैठकमा सहभागी हुने बताए । ‘हामी बैठकमा सहभागी हुन्छौं । एजेण्डाको विषयमा जानकारी छैन । उहाँहरु बैठकमा कसरी प्रस्तुत हुनुहुन्छ त्यो हेर्न बाँकी नै छ,’ उनले भने । चौलागाईंले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा आफूहरु एक ढिक्का भए पनि अर्को समूहको रणनीतिअनुसार प्रतिक्रिया दिने बताए ।
‘पार्टीको माथिल्लो तहको अवस्था हेर्दा उहाँहरु मिलेर होइन, ठेलेर जाने नीतिमा देखिनुहुन्छ । वैचारिकभन्दा बल र सत्ताको आडमा उहाँहरु अगाडि बढ्न खोज्नु भएको देखिन्छ । मिल्ने तहसम्म पक्कै पनि उहाँहरु आउनुहुन्न,’ उनले भने । नेपाल समूह मन्त्रिपरिषद् विस्तारमा समेत सहभागी नहुने भएको छ । ‘हामी संसदीय दलको पदाधिकारी र अब विस्तार हुने मन्त्रिपरिषद्मा सहभागी हुँदैनौं । हामी वैचारिक रुपमा संघर्ष जारी राख्दै आफ्नो दायित्व निर्वाह गर्नेछौं,’ चौलागाईंले भने । वाग्मती प्रदेशमा ५७ मत रहेको एमालेको एकल बहुमत रहेको छ । ११० सांसद रहेको वाग्मतीमा ५६ मत भए सरकार गठन गर्न सकिन्छ । इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।