सुरेन्द्र पाण्डेको स्पष्टीकरण : ‘शत्रुलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन’

जनपत्र
१७ चैत्र २०७७, मंगलवार २०:१४

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । शत्रुलाई पठाएको जस्तो पत्रको जवाफ दिन आवश्यक नरहेको बताउँदै उहाँले आफूलाई लगाइएको आरोप कति मिथ्या छन् भनेर पत्रको जवाफ पठाएको स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ ।

ओलीले पार्टीमा राजनीतिक, वैचारिक तथा सैद्धान्तिक रूपमा नेतृत्व गर्न असफल भएको उहाँले बताउनुभयो । उहाँले गुटका निर्णय पार्टीको निर्णय हुन नसक्ने पाण्डेले लेख्नुभएको छ ।

पाण्डेले पत्रमा लेख्नुभएको छ, ‘शत्रुलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनु भएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईँका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टी पङ्क्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दै छु । विभिन्न मन्त्रालयका अधिनमा रहको संस्थाहरूलाई प्रधानमन्त्री कार्यालयका अधिनमा राखी तपाईँले दुरुपयोग गर्नुभयो र मन्त्रालयहरूलाई निकम्मा बनाउनुभयो । यस्ता अनेक कार्य र सरकारको असफलतापछि संसद् विघटनजस्तो असंवैधानिक कदम चाल्नुभयो । यी सबैको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो तर त्यतिले नपुगेर अझै पार्टी विभाजन गर्न खोज्दै हुनुहुन्छ भन्ने कुरा रहस्यमय देखिन्छ ।’

आफूमाथिकाे आराेपकाे खण्डन गर्दै नेता पाण्डेले वैधानिक अध्यक्षको हैसियत भएको व्यक्तिले नक्कली हैसियत किन खोज्नभएको हो ? भन्दै ओलीलाई प्रश्न गर्नुभएकाे छ । ‘पार्टीको अध्यक्ष जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नुभएको हो भनेर तपाईँले नै स्पष्ट पार्नु पर्ने देखिन्छ’, उहाँले पत्रमा लेख्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*