मकवानपुरको कुलेखानी ड्यामको थप सदुपयोग, एक सय मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाइने

दिपेश दाहाल
१७ चैत्र २०७७, मंगलवार ०७:१०

हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी प्रथमको ड्याम (इन्द्रसरोवर ताल)लाई थप सदुपयोग गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेखानीको ड्यामलाई नै सदुपयोग गर्दै एक सय मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले एक सय मेगावाटको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति माग्दै विद्युत् विकास बिभागमा आवेदन दिइसकेको छ । प्राधिकरणले गत पुसमा नै उक्त आयोजनाको सर्वेक्षण अनुमति माग्दै विभागमा आवेदन दर्ता गरेको जनाएको छ । प्राधिकरण अन्तर्गतको एनइए इन्जिनियरिङ कम्पनीले केही समयअघि नै यस सम्बन्धमा अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा त्यहाँ पम्प स्टोरेज प्लान्ट बन्ने देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पम्प स्टोरेज प्लान्ट बनाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
कुलेखानी बाँधभन्दा २ किलोमिटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बन्ने छ । साँझको पिक आवर ४ घण्टामा उक्त आयोजना सञ्चालन गरिने छ । उक्त समयमा कुलेखानी बाँधबाट नै पानी लगेर एक सय मेगावाट विद्युत् उत्पादन गरिनेछ । विद्युतगृहको टर्वाइनबाट बाहिरिने पानीलाई नजिकै अर्को बाँध बनाएर जम्मा गरिनेछ ।

पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानीमाथि कुलेखानी बाँधमा फिर्ता पठाउने गरी आयोजना बनाउन लागिएको हो । यो चक्र पूरा गर्दा लगभग १० प्रतिशत पानी खेर जान सक्ने बताइएको छ ।

पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् मागलाई आपूर्ति गर्न सहज हुने गरी आयोजना बनाउन लागिएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ‘हामीलाई अझै पनि हिउँदको पिक आवरमा मागअनुसारको विद्युत् पुग्दैन । त्यो अवस्थामा पिक आवरमा विद्युत् उत्पादन गर्ने गरी आयोजना बनाउन लागेका हौं,’ उनले भने, ‘त्यसपछि रातिको समयमा तल जम्मा भएको पानी कुलेखानी बाँधमा पठाउँछौं ।’ विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनालाई सर्वेक्षणको अनुमति दिने विषयमा छलफल भइरहेको बताए ।

कुलेखानी बाँध कंक्रिट नभएर ढुंगा भरेर बनाइने (रक फिल) बाँध हो । अब बन्ने बाँध पनि रक फिल नै हुने बताइएको छ । त्यो अवस्था बाँधमा दैनिक रुपमा पानी प्रवाह भइराख्न जोखिम हुन सक्ने उनको भनाइ छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने बनाउने क्रममा नै रहेको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले भने उक्त आयोजना बनाउन सम्भव रहेको बताए । निर्माण सुरु गरेको २ वर्षभित्र नै आयोजनाको निर्माण सम्पन्न हुने उनको दाबी छ । आयोजना निर्माण गर्न करीब ८ अर्ब लगानी लाग्ने छ । उक्त लगानी रकम दातृ निकायको सहयोग तथा ऋण खोजेर जुटाइने शाक्यको भनाइ छ ।

अहिले विभागको आयोजना अध्ययन महाशाखामा उक्त आयोजनाको सम्भाव्यताको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ । ‘भौगोलिक बनोटका आधारमा आयोजना बन्न सम्भव छ कि छैन, आयोजना निर्माण हुने सम्भावना कत्तिको छ ? कस्तो बाँध बन्छ भन्ने विषयमा आवश्यक अध्ययन गरेर सर्वेक्षणको विषयमा निर्णय हुन्छ,’ उनले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*