उपमहानगरपालिकाले १० हजार फूलका विरुवा उत्पादन गर्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा वजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई अझै तिव्र पार्नका लागि आफै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्न थालेको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा फूलका विरुवा रोप्न सक्नेगरी १० हजार फूलका विरुवा उत्पादन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
हेटौंडा बजारक्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजना अनुसार महगो मुल्यमा फूलका विरुवा खरिद गर्नु भन्दा पनि आफै उत्पादन गरेर रोप्न लागिएको मेयर महतले वताउनुभयो ।
हेटौंडालाई फूलैफूलको शहरका रुपमा विकास गर्नका लागि अन्यत्रबाट खरिद गर्नु भन्दा पनि आफै फूलका विरुवा उत्पादनका लागि नर्सरी तयार गरिएको हो । उपमहानगरपालिकाले सडक पेटीमा रोप्ने गरेका फूलका विरुवा चोरी भएका कारण त्यही स्थानमा दोस्रो, तेस्रो पटक समेत विरुवा रोप्नुपर्ने बाध्यता परेको छ । महगो विरुवा चोरी हुँदा समस्या भएकाले पनि आफ्नै नर्सरी बाट उत्पादित विरुवा रोप्नेगरी काम थालिएको मेयर महतले वताउनुभयो ।
अहिले हेटौंडा बजार क्षेत्रको माछाप्लान, नगरपालिका रोड अन्तरगत मकवानपुर क्याम्पस अगाडी, कान्तिलोकपथको डिभाइडरमा कल्की फूल फूलेर बजारको सुन्दरता थपीएको छ । पानी नपरेर केही स्थानमा फूलका विरुवा मरेका पनि छन् । तर, फूलमा दिनहुँ उपमहानगरपालिकाले पानी हाल्दै आएको छ ।
नगरवासीका घरअगाडी फूलका विरुवामा पानी हालेर हुर्काउने लगायतका सबै काम स्थानीय सरकारले भन्दा पनि पानी हाल्ने गोडमेल गर्ने काम घरधनीले गर्नका लागि उपमहानगरपालिकाले आग्रह गरेको छ । प्रत्यकले आफ्ना घरअगाडी भएका विरुवा हुर्काउने र पानी हाल्ने, गोडमेल गर्ने काम गर्ने हो भने सबैतिर फूलैफूलको शहर बनाउने अभियान सफल हुने उहाँले वताउनुभयो ।