स्पष्टीकरण दिने नेपाल पक्षको तयारी : राजनीतिक रूपमा खुला जवाफ, ओलीलाई प्रश्न पनि

माधवकुमार नेपालसहित नेकपा ‘एमाले’ का ४ नेताले अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ राजनीतिक विषयवस्तु बनाई सार्वजनिक रूपमा दिने भएका छन्। पार्टीभित्रको अन्तर–संघर्ष राजनीतिक विषय भएकाले त्यसैअनुसार जवाफ दिने र सँगसँगै अध्यक्ष ओलीलाई प्रश्न पनि गर्ने तयारी उनीहरूले गरेका हुन्।
‘स्पष्टीकरण भनेको राजनीतिक विषय भएकाले त्यसैअनुसारको जवाफ जान्छ। स्पष्टीकरण मागिएको विषय सार्वजनिक गरिएको छ। जवाफ पनि खुला रूपमै दिन्छौं,’ नेपाल पक्षका एकजना स्थायी कमिटी सदस्यले भने, ‘निर्धारित समयभित्रै स्पष्टीकरण दिँदै प्रश्न सोध्नेछौं।’ उनका अनुसार छुट्टाछुट्टै जवाफ दिने सल्लाह भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई विभिन्न प्रश्नसहितको पत्र सोमबार पठाएका थिए।
त्यसैको जवाफ उनीहरूले सार्वजनिक रूपमा पेस गर्ने भएका हुन्। जसमा पार्टी एकताको असफलता, संसद् विघटन र पुनर्स्थापनलगायतका विषय रहने नेताहरूले बताएका छन्। साथै ओली सरकारले गरेका अनियमिततासमेत जवाफमा समेटिने एकजना स्थायी कमिटीका सदस्यले बताए। बुधबार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। मनमैजुस्थित एक नेताको घरमा बसेर उनीहरूले आगामी रणनीतिका विषयमा बृहत् छलफल गरेका हुन्।
‘आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमै छौं। ठोस निर्णय भइसकेको छैन,’ एकजना स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘कार्यकर्ता भेलामा उठेका विषयलाई ध्यानमै राखेर आगामी कदमबारे निर्णय हुनेछ।’ बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग मिलेर नेकपा बन्नुअघिकै कमिटीलाई कायम गर्नुपर्ने नेपाल पक्षको माग छ। ‘फागुन २८ गते ओली पक्षले राखेको केन्द्रीय कमिटीले गरेका निर्णय परिवर्तन नहुन्जेल अध्यक्षले बोलाएको बैठकममा उपस्थित हुन्नौं,’ ती नेताले भने।
तर नेपाल समूहका केही नेताले भने बाहिर बसेर सर्त राख्नुभन्दा पार्टीका बैठकमै सहभागी भएर आफ्ना माग र मत राख्नुपर्नेमा जोड दिइरहेका छन्। एमाले पुनर्स्थापना भएको केही दिन नबित्दै गत फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको मात्र बैठक राखेर अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्।
जुन निर्णयलाई नेपाल पक्षले भने पार्टीको विधानविपरीत दाबी गरिरहेको छ। तर ओली पक्षले माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका लागि सदस्य थप गर्नुपरेको जनाएको छ। ‘अहिले हामीले जेजस्ता गतिविधि गरिरहेका छौं, त्यसलाई निरन्तर अघि बढाउनेछौं,’ नेपाल पक्षका अर्का स्थायी कमिटी सदस्यले भने। यही चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको नेपाल पक्षले युवा, विद्यार्थी र महिला संगठनको समानान्तर ९छुट्टै० कमिटीसमेत बनाइसकेको छ।
उता ओली पक्षले भने अहिलेसम्म गरेका गतिविधिका लागि नेपाल पक्षले माफी माग्नुपर्ने सर्त राखेको छ। यस्तै उसले गत शनिबार बैठक राखेर मंसिरमा महाधिवेशन गर्न केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रूपमा परिणत गरेको छ। जसमा अध्यक्ष र महासचिव मात्रै रहने र अरू सबै सदस्य हुने व्यवस्था गरिएको छ। जुन निर्णय नवौं महाधिवेशनविपरीत भएको नेपाल पक्षको भनाइ छ। नेपालखबरबाट