दलित सशक्तिकरण सम्बन्धी विधेयकको मस्यौदा मुख्यमन्त्री पौडेललाई हस्तान्तरण

जनपत्र
११ चैत्र २०७७, बुधबार २०:१६

हेटौंडा: दलित सशक्तिकरण सम्बन्धी विधेयकको मस्यौदा मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशमा उक्त विधेयक ल्याउन सुझावसहित बुधबार समता फाउण्डेशनले मुख्यमन्त्री पौडेललाई उक्त विधेयकको मस्यौदा हस्तान्तरण गरेको हो ।

मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले छुवाछुत गर्नु जघन्य अपराध सरह भएको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित दलित मैत्री नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले जातजातीबिच छुवाछूत र भेदभाव गर्नु जघन्य अपराध सरह भएको बताएका हुन् । उनले समाजमा आर्थिक, सांस्कृतिक र सामाजिक विकास नभएसम्म मुकुलमा समृद्धि हासिल गर्न नसकिने बताए ।

प्रदेशभरीका ११९ वटै स्थानीय तहमा समेत दलित सामुदायको प्रतिनिधित्व रहेको भन्दै मुख्यमन्त्री पौडेलले क्रमिक रुपमा परिवर्तन भइरहेको बताए । देशमा धेरै राजनीतिक परिवर्तन भएपनि सामाजिक, आर्थिक र साँस्कृतिक परिवर्तन नभएका कारण पूर्ण रुपमा छुवाछूत अन्त्य गर्न नसकिएको बताए ।

समता फाउण्डेसनको तर्फबाट अधिवक्ता प्रकाश नेपालीले प्रस्तुत गरेको दलित सशक्तिकरण सम्बन्धी विधेयकको मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले उक्त विधेयक प्रदेश सरकारले आवश्यक छलफल गरी छिटै संसदबाट पास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव डा. मान बहादुर बिके, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।

छलफलमा आफ्ना अनुभव सुनाउँदै दलित अधिकारकर्मीहरु रामकृष्ण देउला, जंगबहादुर विश्वकर्मा, कल्पना विश्वकर्मा, अमीर रामदाम लगायतले अझै पनि विभेद अन्त्य हुन नसक्नु दुखद् भएको बताए । साथै जनप्रतिनिधिहरुले समेत विभेद भोग्न बाध्य भएको भन्दै सामाजिक अभियान चलाउन जरुरी रहेको बताए । कार्यक्रममा इन्सेक प्रतिनिधिले जातीय विभेदका घटनाहरुको विवरण प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*