‘कानुन निर्माण प्राथमिकतामा पर्नु पर्छ’–सभामुख श्रेष्ठ

जनपत्र
८ चैत्र २०७७, आईतवार ११:३६

हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माणको काम प्राथमिकतामा पर्नु पर्ने बताएका छन् । मुख्यन्यायधिवक्ताको कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशसभामा कानुन निर्माणको कामले प्राथमिकता पाउनु पर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् ।

प्रदेशसभा सदस्यहरुको पहिलो काम नै कानुन निर्माण भएको भन्दै उ उनले सांसदहरुले नै कानुन निर्माणमा चासो नदेखाएको बताए । ‘सबै विषयहरु कानुनसँग जोडिन पुग्छ । कानुन सबैको जरा हो,’ उनले भने,‘सांसदहरु विकासको फाइल बोकेर हिँड्न बढी चासो राख्छन् । प्रदेशसभा भनेको कानुन बनाउने थलो हो । तर कानुन निर्माणमा कम मात्रै चासो पुगिरहेको छ ।’

बागमती प्रदेशसभाले अहिलेसम्म ५९ वटा कानुन निर्माण गरेको जानकारी दिँदै उनले ११ वटा कानुनहरु संशोधन भएको बताए । यस्तै एउटा विधेयक समितिमा विचाराधिन रहेको छ भने अर्को एउटा नयाँ विधेयक दर्ता भएको छ। सभामुख श्रेष्ठका अनुसार अब ३२ वटा कानुन निर्माण गर्न बाँकी रहेको छ । उनले सरकार विरुद्ध पर्ने मुद्धाहरुको संख्या बढीरहेको भन्दै यसको अध्ययन हुनु पर्ने बताए । मुद्धाहरुकै कारण कतिपय विकासका कामहरु अवरुद्ध हुने भन्दै उनले यस तर्फ सरोकारावालाहरुले ध्यान दिनु पर्ने बताए ।

विकासको कामले गति लिएको भन्दै उनले संघ, प्रदेश र स्थानीय तहहरुबीच समन्वय भएर काम गरिरहेको बताए । तीन वर्षको कामको समीक्षा गर्न जरुरी रहेको भन्दै उनले विकासको क्रममा देखिएको कमजोरीको समीक्षा हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै मुख्यन्याधिवक्ता ओमप्रसाद थपलियाले कानुन निर्माणको तीन वर्ष पुगेको र यसको समीक्षा गर्न जरुरी रहेको बताए । प्रदेशसभाले बनाएको कानुनहरुको कार्यान्वयनको अवस्था, समस्यालगायतको विषयमा अध्ययन गर्न जरुरी रहेको भन्दै उनले सरकारले विज्ञ टोली बनाएर यसको समीक्षा गर्नु पर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका पहिलो मुख्यन्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो भने कार्यालयका तीन जना कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम कुमार बस्नेत, जिल्ला समन्वय ससमिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, निबर्तमान मूख्यन्यायधिवक्ता ससूर्यचन्द्र न्यौपाने लगायतकाको सआतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*