विश्वकै प्रिय तरकारी आलुको सयौँ वर्ष पुरानो कथा

जनपत्र
८ चैत्र २०७७, आईतवार ०५:५५

सन् १९५७ मा फ्रेन्च दार्शनिक तथा साहित्यिक आलोचक रोलाँ बार्थले चिप्सलाई देशभक्तको संज्ञा दिँदा ठूलो चर्चा भएको थियो । एक शताब्दि पहिले आलुमा लागेको एउटा रोगकै कारण आयरल्यान्डमा झन्डै आधा जनसंख्याले ज्यान गुमाएका थिए । अब त चीन, भारत, रुस तथा युक्रेन आलुका प्रमुख उत्पादक भएका छन् । आलु नेपाली भान्सामा पनि निकै रुचाइएको छ । तर, आलुसँग यी उत्पादकहरुको चाहिँ जटिल सम्बन्ध छ । तर, यी कुनै पनि देशले आलुलाई आफ्नो देशको उत्पादन हो भनेर गर्व गर्न सक्दैनन् ।

८ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलुको खेती सुरु गरिएको थियो । १५०० वर्ष पहिले मात्र यसलाई युरोप ल्याइएको थियो । अनि त्यहाँबाट नै यो पश्चिम र उत्तर फैलिएको हो, अमेरिका पनि आलु युरोपबाट नै पुगेको हो । खाद्य इतिहासकार रेबेका अर्ल भन्छिन्, ‘आलु त अहिले विश्वभर हुन्छ र विश्वका सबै कुनाका मानिसहरु आलु पहिले आफ्नै देशमा भएको हो भन्ने सम्झन्छन् ।’ उनले आलुलाई विश्वको सबैभन्दा सफल प्रवासीको संज्ञा पनि दिएकी छिन् ।

जे होस्, पछिल्लो समय त यसलाई औधी मन पराउनेहरु हुन् या किसान कोही पनि यसको उत्पत्तिबारे ध्यान दिँदैनन् ।अमेरिकामा मानिस हुन् या पेरुका, इटालीका हुन् या चीनका सबैले आलु आफ्नै ठाउँमा पहिले उत्पादन भएको हो भनेर मान्छन् । जे होस्, आलु एउटा देशमा मात्र सिमित छैन र यसको कुनै भौगोलिक क्षेत्र पनि छैन । विश्वमा चामल, गहुँ, मकैपछि सबैभन्दा बढी आवश्यक भएको खानेकुरा चाहिँ आलु हो । गैरअनाजको रुपमा त यसलाई पहिलो नम्बरमा नै राखिन्छ ।

खासमा आलु यति लोकप्रिय हुनुको कारण भनेको यसको पौष्टिकता हो, खेती गर्न सहज हुनु पनि हो । पेरुको राजधानी लिमामा एक उपनगर रहेको छ, जहाँ हजारौँ किसिमका आलुका नमूना राखिएको छ । हुन पनि आलु यही लिमाभन्दा झन्डै एक हजार किलोमिटर टाढा दक्षिण पूर्वमा रहेको टिटिकाकामा सुरु भएको थियो । अनि यो अत्यन्त छिटो त्यहाँको समुदायको खाना बनेको थियो । आलुलाई फ्रिज गरेर राख्दा वा सुकाएर राख्दा केही वर्षसम्म नबिग्रिने भएकाले पनि यसको उपयोगिता झन्झन् बढ्न थाल्यो, यसलाई धेरैले रुचाउन थाले ।

सन् १५३२ मा स्पेनको आक्रमणमा आलु खेती खत्म हुन सकेन । स्पेनिसहरुले यसलाई एटलान्टिक पारीसम्म लिएर गए । उनीहरुले आलुसँगै गोलभेँडा र एभोकार्डो पनि लगेका थिए । इतिहासकारहरु यसलाई द ग्रेट कोलम्बियन एक्सचेन्ज पनि भन्ने गर्छन् । यही समयमा पहिलो पटक आलु अमेरिकाबाट बाहिर गयो । तर, मौसम नराम्रो भएकाले आलु एक दशकसम्म युरोपमा राम्रोसँग हुर्कन पाएन । सँगसँगै आयरल्यान्डमा चाहिँ आलुका लागि उचित मौसम थियो । त्यहाँ चिसो भए पनि हिउँ नपर्दा आलुलाई उम्रिन सजिलो भयो । अनि त त्यहाँका किसानको प्रमुख खेती नै आलु हुन थाल्यो ।

आलु त्यहाँका किसानलाई किन महत्वपूर्ण भयो भने यसले उनीहरुलाई जीवन सहज मात्र बनाउन सहयोग गरेन, यसका कारण उनीहरुले पौष्टिकता पाएको पनि आभास गर्न थाले । विस्तारै आयरल्यान्डका किसानहरुले जमीनलाई भाडामा लिएर पनि आलु खेती गर्न थाले । तर, अचानक यसको माग बढ्दै गएपछि त्यहाँ खेतीको भाडा महंगो बनाउन थालियो ।

समाजशास्त्री जेम्स ल्याङका अनुसार त्यति बेला प्रति एकड जमिन जति आलु हुन्थ्यो, अरु कुनै पनि खेती त्यहाँ हुँदैनथ्यो । अनि फेरि आलुलाई राख्न सहज पनि हुने थियो । त्यसैले किसानहरुले जतिसक्दो धेरै आलु खेती गर्न थाले । भिटामिन ए र भिटामिन डीलाई छाडेर आलुमा सबै प्रमुख भिटामिन तथा पोषक तत्व पाइन्छ । आलुको हरेक सय ग्राममा दुई ग्राम प्रोटिन पाइन्छ । यही कारणले पनि आलु मानिसहरुबीच अझ प्रचलित बन्दै गयो ।

कतिसम्म भयो भने १७ र १८ औं शताब्दिमा त एक एकड जमिनमा आलु खेती गरेर र एउटा गाइको दूध हुँदा ८ जनाको परिवारलाई वर्षभरी खान पुग्ने भयो । आयरल्यान्डमा अब विस्तारै अरु खेती हराउन थाल्यो र आलुले नै प्राथमिकता पाउन थाल्यो । अनि विस्तारै आलुको विस्तार हुन थाल्यो । सन् १६५० मा बल्ल आलु बेल्जियम, नेदरल्यान्ड्स तथा लक्जम्बर्गसम्म पुग्यो । सन् १८४० को दशकमा आलु रुससम्म पुग्यो ।

अनि यसको फाइदा अनेक कुरामा देख्न थालियो । सन् १७०० पछि फ्रेन्च सैनिकहरुले आलु अझ बढी खान थाले किनकि यसको सेवन गर्नेहरुको उचाइ अरुकोभन्दा बढी हुन थाल्यो । सन् १७०० देखि १९०० को बीचमा विश्वको जनसंख्या निकै बढ्यो र शहरीकरण पनि बढ्यो । यसको कारण नै आलुलाई मानिन्छ ।

सन् १८४५ देखि १८४९ सम्म आयरल्यान्डमा परेको भीषण अकालका कारण आलुको रफ्तारमा ब्रेक लाग्यो । यो खराब भएकाले र लन्डनको सरकारले यसलाई बेवास्ता गर्दा १० लाख मानिस मरे । त्यहाँबाट करिब १० लाख मानिस अमेरिका पलायन भएको र अन्य २० लाख अन्यत्र गएको मानिन्छ । जे होस्, केही वर्षमा नै आयरल्यान्डका बासिन्दा आधा भए । तीमध्ये केहीले आफू गएका ठाउँमा आलुलाई पनि लिएर गए । अहिले त आलुका १५१ प्रजाति जानिन्छ । अहिले चीनमा आलुको उत्पादनलाई निकै प्राथमिकता दिइएको छ ।

त्यसो त आलुलाई लिएर बेलाबेलामा पेरु र चिलीका नेताहरुबीच विवाद पनि भएको छ । उनीहरु बारम्बार आफ्नो देशमा नै पहिलो पटक आलु खेती गरिएको दाबी गरिरहेका छन् । सन् २००८ मा चिलीका एक मन्त्रीले आलुको अधिकांश प्रकार आफ्नै देशबाट सुरु भएको बताएका थिए । जे होस्, आलुको कथा लामो छ । यसको स्वास्थ्यका लागि फाइदा पनि राम्रै छ । अनि त हामीले पनि आजभोलि तरकारीमा स्वाद मानिमानि आलु छुटाउन सक्दैनौँ । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*