४० वर्षपछि जेलमुक्त दुर्गाप्रसाद : डायरीमा लेख्थे आधा हिन्दी आधा नेपालीमा मनका कुरा

जनपत्र
७ चैत्र २०७७, शनिबार १९:४२

इलाम – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आज भारतको जेलबाट छुट्नुभयो । दीपक भारतको कोलकातामा रहेको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ मा जेल जीवन बिताइरहनुभएको थियो ।

लामो समयपछि जेलमुक्त भएसँगै दीपक घर फर्कन लागेपछि उहाँको परिवारमा खुशी छाएको छ । परिवारमा मात्र होइन गाउँमा नै एकप्रकारको उल्लास छाएको छ ।

सन् १९८० मा भारतको दार्जिलिङमा पक्राउ परेयता मुद्दाको ‘ट्रायल’बिना नै जेल जीवन बिताइरहनु भएका उहाँलाई शनिबार आफन्तको जिम्मा लगाइएको भतिज गोपाल तिम्सिनाले बताउनुभयो । उहाँलाई भारतमा रहेको नेपाली दूतावासकै गाडीमा झापाको काँकडभिट्टासम्म ल्याइनेछ । आइतबार दीपकका कान्छो भाइ धर्मानन्द र भतिज गोपाल उहाँलाई लिन काँकरभिट्टा जाँदै हुनुहुन्छ ।

वि.स. २०१७ सालमा जन्मिनुभएका दीपक रोजगारीका शिलशिलामा १९ वर्षको उमेरमा भारत जानुभयो । भारतमा गएर कमाउँला, परिवारलाई खुशी दिउँला, आफ्नो भविष्य राम्रो बनाउँला भन्ने उहाँको सपना थियो । तर कारागारका कठोर भित्तामा गएर ठोक्किन पुग्यो उहाँको सपना । दार्जिलिङमा हत्या आरोपमा समातिएका उहाँलाई भारतका विभिन्न जेलमा राखियो । त्यसबारे परिवारलाई कहीँ कतैबाट पनि जानकारी मिलेन । परिवारलाई थाहा नै थिएन, छोरो कहाँ गयो भन्ने । घर परिवार, गाउँमा मरिसके भन्ने हल्ला समेत फैलियो ।

विगत ४० वर्षसम्म यही भ्रममै बितिरहेका थिए इलाममा दीपकको परिवारका दिन । यसैबीच एकाएक आशाको दियो जल्यो ।

यसरी बाहिर आयो घटना

गोपाल तिम्सिनाका अनुसार, अर्कै मुद्दामा पक्राउ पर्नुभएका र १० वर्ष ‘दमदम करेक्सनल होम’ मै कैद सजाय भुक्तान गरेर छुट्नु भएका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएका हुन् । त्यसपछि मात्र दीपकबारे थाहा भएको हो । दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उहाँले घर इलाम बताएको आधारमा यो कुरा बाहिर ल्याएको बताउनु भएको हो ।

गोपालका अनुसार दीपकको वास्तविक नाम दुपड प्रसाद र चिनाको नाम दुर्गा प्रसाद भएको तर भारत जेलमा बसेपछि उक्त नाम अपभ्रंस भएर दीपक जैशी भएको हो । जेलबाट छुटेपछि दासले सबैभन्दा पहिले कोलकातामा नेपाली महावाणिज्य दूतावासमा दीपककाे बारेमा जानकारी दिनु भएको हो । तर, दूतावासबाट उचित ‘रेस्पोन्स’ नपाएको भन्दै उहाँले यसबारे ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीलाई खबर गर्नुभयो । भारतको केन्द्रीय सञ्चार मन्त्रालयमा दर्ता भएको यो क्लब त्यस क्षेत्रमा प्रकोपको समयमा सूचना उपलब्ध गराउने, हराएका मानिसको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने तथा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता सामाजिक काममा सक्रिय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*