मनहरी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया सुरु

जनपत्र
५ चैत्र २०७७, बिहीबार ०७:२४

मनहरी । मनहरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया अघि बढाउने भएको छ । गाउँ शिक्षा समितिको चैत ४ गते बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवाला तथा विज्ञहरुसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यस बर्ष शैक्षिक सत्र असारमा सुरु हुने भएकाले भ्याएसम्म असारबाटै कार्यान्वयन हुने गरी पाठ्यक्रम निर्माणको काम सकाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

बैठकले विभिन्न विद्यालयहरुमा घेराबारा लगाउने, शिक्षक अनुदान बितरण गर्ने लगायतका निर्णयहरु गरेको अध्यक्ष उप्रेतीले बताउनुभयो । बैठकले कक्षा ८ को परिक्षालाई मर्यादित बनाउनका लागि परिक्षा केन्द्रहरु निर्धारण गर्ने, केन्द्राध्यक्षहरुको व्यवस्थापन गर्ने र सुरक्षा निगरानीमा उत्तर पुस्तिका जाँच गर्नेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

परिक्षा समितिले तयार गरेको व्यवस्था अनुसार कक्षा ८ को परिक्षालाई मर्यादित बनाउने गरी शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गाउँ शिक्षा समितिको बैठकमा शिक्षकहरुको डिजिटल हाजिरीलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ भने तत्कालै राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सञ्चालन गर्नेगरी गाउँ खेलकुद विकास समितिसँग आपसी समन्वय गर्ने निर्णय पनि गरेको छ ।

मनहरी लाइभबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*