झा दम्पती बेपत्ता प्रकरण : बल्ल अनुसन्धानमा खटियो सिआइबी

जनपत्र
५ चैत्र २०७७, बिहीबार ०७:०२

महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित सहोडवाबाट बेपत्ता भएका झा दम्पती बेपत्ता प्रकरणमा अनुसन्धानको पाटो जटिल बन्दै गएपछि सिआइबीले अनुसन्धान गर्न लागेको छ । घटनाको तीन साता बिते पनि उनीहरु अझै भेटिएका छैनन् ।प्रहरीले ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको खोजबिन तीव्र बनाए पनि अझैसम्म कुनै सुइँको पाउन सकेको छैन । झा दम्पती फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए ।

झा दम्पती बेपत्ता भएको २३ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का प्रवक्ता तथा प्रहरी उपरीक्षक गंगा पन्तले झा दम्पतीको बेपत्ता प्रकरणमा प्रारम्भिक अनुसन्धान थालिसकेको बताइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीलाई पहिलेदेखि नै सघाइरहेका जानकारी दिँदै उनले भनिन्, ‘अब हामी टोली खटाएरै अनुसन्धान थाल्नेछौँ ।’

प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भए पनि ठोस परिणाम आउन नसकेपछि सिआइबीले आफ्नै टोली खटाएर अनुसन्धान गर्न लागेको हो । पन्तले भनिन्, ‘यो घटनामाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, स्थानीयको मागअनुसार नै हामीले टोली खटाउन लागेका हौँ ।’

यता, झा दम्पतीको अवस्थाको विषयमा अविलम्ब जानकारी गराउन माग गर्दै आएका मैथिल ब्राह्मण युवा महासभासहित ४४ वटा संघ–संस्थाले घटनाको अनुसन्धान सिआइबीले गर्नुपर्ने माग गर्दै आइरहेको थिए ।

उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको बताइए पनि ठोस प्रगति हुन सकेको छैन । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*