शीतल निवास बोलाएर राष्ट्रपतिले दलहरुलाई के-के भनिन् ?

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्रपतिले भनिन्, “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।” राष्ट्रपति कार्यालय शीतलनिवासमा आज साँझ आयोजित राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल उनले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताप्रति धन्यवाद प्रकट गरिन् ।
राष्ट्रपतिले कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा परेको प्रतिकूल प्रभावका विषयमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकको योगदानको स्मरण गरिन् । उनले सो कार्यमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तनजस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई राष्ट्रपतिले आग्रह गरिन् ।
सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गरिन् । छलफलमा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । लोकान्तरबाट