बर्दियामा फेरि बाघको आक्रमण : एक महिला बेपत्ता, दुई जनाले भागेर ज्यान जोगाए

बर्दियामा पाटेबाघको आक्रमणमा परेर फेरि एक महिला बेपत्ता भएकी छन्। ठाकुरबाबा नगरपालिका ७ मोहनपुर कि ५५ वर्षीया डल्ली रावतलाई मंगलबार दिउँसो बाघले आक्रमण गरी बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।
घर नजिकैको जंगलमा निगुरो ९तरकारी० टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेर जंगलमा बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए। रावतसँगै निगुरो टिप्न गएका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्।
निगुरो टिपिरहेको अवस्थामा बाघले आक्रमण गरी रावतलाई घिसार्दै जंगलतिर लिएर गएको प्रत्यक्षदर्शी महिलाहरुले बताएका छन्। बेपत्ता महिलाको खोजी भैरहेको निकुञ्ज प्रशासनले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा यस वर्ष मात्रै बाघको आक्रमणमा परी नौ जनाको मृत्यु भैसकेको छ।बाघको आक्रमण बढ्दै गए पनि निकुञ्ज प्रशासन र स्थानीय नागरिकले आवश्यक सतर्कता नअपनाएका जानकारहरु बताउँछन्।