नेपाल खेमाको समानान्तर अभ्यास

जनपत्र
१ चैत्र २०७७, आईतवार ०६:४१

सत्तारूढ दल एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर अभ्यास थालेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले विभाग र प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेपछि आक्रोशित नेपाल–खनाल समूहले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

भेलाको तयारीका लागि भन्दै सातै प्रदेशमा छुट्टै इन्चार्ज र केही विभागीय जिम्मेवारी तोकिएको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ। यस्तै युवामा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, बुद्धिजीवीमा प्रमेश हमाल, प्रचारमा योगेश भट्टराईलाई जिम्मेवारी तोकिएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाए नजाने निर्णय यो पक्षले गरेको छ।

नेता रावलले भेलामा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, परिषद्, सल्लाहकार समिति, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी, संघीय सांसदहरू, प्रदेश कमिटीका सदस्यहरू, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निम्त्याइएको बताए।

‘पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो गुटको भेला गरी जुन प्रकारको निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौं। नेकपा ९एमाले०को विधानविपरीत, नियमावलीविपरीत, यसको प्रणालीविपरीत र यसको कार्यशैलीविपरीत जसरी काम गर्नुभयो त्यो अत्यन्त आपत्तिजनक छ’, नेता रावलले भने, ‘अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हास्यास्पद छ। यसले कुनै विधि, प्रणाली, प्रक्रियाको अवलम्बन गरेको छैन। त्यो बैठकबारेमा केन्द्रीय कमिटीका पदाधिकारीहरू, सदस्यहरूलाई जनकारी पनि गराइएको छैन।’

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले शुक्रबार आफू पक्षधर केन्द्रीय सदस्यहरू सहभागी बैठकबाट नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेर आफूनिकटलाई जिम्मेवारी तोकेका थिए। माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरिएको थियो।

नेपाल र खनाल पक्ष ओली पक्षको उक्त निर्णय अस्वीकार गर्ने निष्कर्षमा पुगेको हो। प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा त्यसो नगरी विधान मिच्दै एकलौटी निर्णय लिन थालेको असन्तुष्ट पक्षको आरोप छ। यो पक्षले शुक्रबारै बानेश्वरस्थित एक होटेलमा आफूपक्षीय स्थायी समिति र शनिबार केन्द्रीय समितिका सदस्यसँग छलफल गरी ओलीको निर्णयको प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो। राष्ट्रिय भेलाबाट थप रणनीति बनाउने निर्णय गरेको जनाइएको छ।

प्रधानमन्त्री ओलीले प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेतालाई जिम्मेवारीबाट हटाएका थिए। ओलीले प्रदेश १ मा सुवास नेम्बाङ, बागमतीमा रामबहादुर थापा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई जिम्मेवारी दिएका हुन्। यसअघि प्रदेश १ मा भीम आचार्य, बागमतीमा अष्टलक्ष्मी शाक्य, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल इन्चार्ज थिए।

एमालेको नवौं महाधिवेशनबाट १ सय ८८ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। माओवादी केन्द्रसँग तीन वर्षअघि पार्टी एकताअघि नै एमालेले १७ जना मनोनयन गरी २ सय ५ सदस्य पु¥याएको थियो। एकताका क्रममा ६ जनाको पद रिक्त भएपछि थप ४२ जना राखेर एमालेतिरका २ सय ४१ सदस्य बनाइएको थियो। त्यो पार्टी विधानअनुसारको थप १० प्रतिशत सदस्य संख्याअनुसार बनाइएको नेपाल पक्षले जनाएको छ। त्यसपछि विधानमा थप गर्न सकिने प्रावधान नै नभएको अवस्थामा ओलीले माओवादी केन्द्रबाट आएका २३ जनालाई बलमिच्याइँका हैसियतमा केन्द्रीय कमिटीमा मनोनयन गरेको नेपाल पक्षको भनाइ छ।

माओवादी केन्द्रसँगको एकताअघि कायम २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ओलीको पक्षमा १ सय २ नेता थिए। ओलीले शुक्रबार माओवादीबाट आएका २३ जना थपेर केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय बनाएका छन्।

ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओलीले उक्त बैठकबाटै २०७८ मंसिर २ देखि ६ सम्म दसौं महाधिवेशन गर्ने, त्यसका लागि अध्यक्ष र महासचिव कायम राखेर महाधिवेशन आयोजक समिति बनाउने गरी निर्णय लिने तयारी गरेका छन्। तर ओलीले बोलाएको उक्त बैठकमा नेपाल पक्ष सहभागी नहुने निष्कर्षमा छ। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*