कफी खेती गरेपछि घरखर्च चलाउन सजिलो

जनपत्र
२९ फाल्गुन २०७७, शनिबार १९:१९

लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो  ।

सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको छ । उहाँले अहिले आफ्नो धान लगाउने जग्गामा कफी खेती विस्तार गर्नुभएको छ ।

धान खेतमा कफी : राम्रो आम्दानी

‘कफीबाट धेरै आम्दानी लिन सकिन्छ । त्यसैले धान लगाउने जग्गामा कफी खेती गरेको हुँ,’ उहाँले भन्नुभयो । उहाँले ३ रोपनी जग्गामा ३ सय कफीका बिरुवा लगाउनुभएको छ ।

‘गैरसरकारी संस्थामा काम गर्दैगर्दा एक/दुई वटा बिरुवा रोपेका थिएँ । यसबाट राम्रो आर्जन गर्न सकिने सम्भावना देखेर अहिले ३ सय कफीका बिरुवा लगाएको छु,’ उहाँले भन्नुभयो, ‘उत्पादन बिक्रीबाट राम्रै कमाइ भइरहेको छ ।’

यसवर्ष उहाँले प्रतिकिलाे एक सय रुपैयाँका दरले ५० किलाे काँचो कफी बिक्री गर्नुभएको छ । विगतदेखी नै कफी बिक्रीबाट कमाइ भइरहेको उहाँले बताउनुभयो ।

‘सुरुका वर्षमा कम उत्पादन हुन्थ्यो । कम आम्दानी हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘बिस्तारै उत्पादन बढ्दै छ । सोही अनुसार उत्पादन बिक्रीबाट आम्दानी पनि वृद्धि हुनेछ ।’

आउँदो वर्ष २ क्विन्टल कफी उत्पादन हुने उहाँको अनुमान छ । कफी खेतीसँगै उहाँले सोही जग्गामा केरा खेती पनि गर्नुभएको छ । कागती पनि लगाउनुभएको छ ।

‘कफीलाई छहारी पनि हुने, कमाइ पनि हुने । त्यसैले कफीसंगै केरा खेती पनि गरिएको छ,’ ५८ वर्षे कृषक न्यौपानेले भन्नुभयो ।

साथ–साथै उहाँले बाख्रापालन समेत गर्नुभएको छ । अहिले उहाँले १४ वटा बाख्रा पाल्दै आउनुभएको छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै कमाइ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*