हेटौंडा गोल्डकपः पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आज (शनिबार) संकटा क्लब,काठमाण्डौले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज भएको खेलमा संकटाले १–० गोलअन्तरले पुलिसलाई पराजित गरेको हो । संकटाको जितमा अफ्रिकी खेलाडी आको लेहोले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे । म्यान अफ द म्याच संकटाका नितिन थापा घोषित भए । नितिनले नगद १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
यो जित संगै संकटा क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने हार ब्यहोरेको नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत भोलि आइतबार नेपाल ए.पी.एफ र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
मकवानपुरका स्थानीय तहहरुको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।