माडी गाउँपालिकाका पाँच गाउँमा घर घरमै धारा

जनपत्र
२८ फाल्गुन २०७७, शुक्रबार ०६:५५

रोल्पाको माडी गाउँपालिका– २ मा रहेका पाँच गाउँका घर घरमा खानेपानीका धारा पुगेका छन् । नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजनाले माडी गाउँपालिकाको ढाप्चाटोल, गलमपाटी, सिरुवाली, पोखराडाँडा र सिमपानीका ६० घरधुरीमा धारा निर्माण गरिदिएको हो ।

६० घरका २९१ जना लाभग्राही रहेको आयोजनाका लागि नेपाल रेडक्रस सोसाइटी अन्तर्गत एकीकृत सामुदायिक उत्थानशील परियोजनाको २१ लाख ६५ हजार लगानी भएको छ । यस्तै समुदायले ५ लाख ८३ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् । परियोजनामा कोरोना महामारीका कारण एक वर्ष ढिलाइ भएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डीबी घर्तीमगरले बताए ।

फिनिस रेडक्रसको आर्थिक सहयोग रहेको परियोजनाले जलवायु अनुकूलन, स्वास्थ्य, लैंगिक सामाजिक समावेशीकरण, खानेपानी सरसफाई स्वच्छता र रेडक्रसको संस्थागत विकासका क्षेत्रमा रही माडी गाउँपालिकामा काम गरिरहेको परियोजनाका अधिकृत कमला राईले जानकारी दिइन् ।

रेडक्रसले खानेपानी निर्माण गरेर स्थानीय सरकारलाई ठूलो सहयोग पुगेको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताए । यसअघि खानेपानीका लागि धेरै समय खर्चिएर टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता हटेको र त्यसबाट बचेको समय अन्य कृषि कर्ममा लगाउन सकिने उनको भनाइ छ ।

धेरै घर मिलेर एउटै धारोमा पानी भर्नुपर्ने समस्याबाट अहिले स्थानीय मुक्त भएका छन् । लसुनखेतीको पकेट क्षेत्रको रूपमा समेत मानिएको यहाँका बासिन्दाले लामो समयदेखि पानीको अभाव खेप्दै आएका थिए । अहिले रेडक्रसले घरघरमा पानी पु¥याइदिएपछि आफूहरूलाई धेरै सहज भएकोे उपभोक्ता टेकबहादुर बाँठाले बताए ।

हरेक धारामा मिटर जडान गरिएको छ । स्थानीयले पानी खपत भएअनुसारको शुल्क तिर्नुपर्ने र उक्त शुल्क मर्मतसम्भारमा खर्चिने बताइएको छ । मर्मतसम्भारका लागि भन्दै उपभोक्ताको बैंक खातामा परियोजनाले १ लाख २० हजार रकम समेत जम्मा गरिदिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*