आकाशे पानी माग्दै सुँगुर पूजा

मठ, मन्दिर, चर्चलगायतका धार्मिक स्थलमा पूजा गरेर आफूले चाहेको कुरा मागेको सुन्दै आएको हो । सुँगुरको पूजा गरेर आकाशे पानी मागेको सुन्दा भने आश्चर्य लाग्न सक्छ । तर रुकुम पूर्वको मगर बस्तीमा भने आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसानले खडेरी परेपछि सुँगुर पूजा गर्दै पानी मागेका छन् ।
सिँचाइ सुविधा नपाएका जिल्लाका किसानले आकाशे पानी मागेका हुन् । खडेरीमा सिँचाइका लागि आकाशे पानी माग्ने पुस्तौँदेखिको चलन अहिले पनि कायमै छ । रुकुम पूर्वमा अहिले हिउँदे बाली जौ र गहुँ छरिएको छ। सिँचाइ सुविधा नभएकाले लामो समयसम्म खडेरी भएपछि स्थानीयले परम्पराअनुसार आकाशे पानी मागेका हुन् ।
मगर बस्तीमा परम्परादेखि खडेरीको बेला उच्च भेगमा पानीको मुहानसम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने चलन छ । होहल्ला गर्दा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास रहेको छ । पुथा उत्तरगङ्गा १० तकसेरामा गोठालो समूहको निर्णयले बुधवार बिहानै भूमि देवतासँग पानी माग्न वृद्धवृद्धा, युवायुवती पानीको मुहान–मुहानमा होहल्ला गरी पूजा गरेका हुन् । पानी माग्ने दिन केही त्यस्तै शब्द बोल्दा कोही पनि रिसाउन नपाउने गोठालो समूहका अध्यक्ष विष्णु बुढामगरले बताउनुभयो ।
यी समुदायले अरू समय फोहर वा जुठो हुन्छ भनेर सुँगुरको मासु लेकतिर लैजाँदैनन् तर पानी नपर्दा झण्डै ३५ सय मिटर उचाइको भूभागमा पुगेर सुँगुरको पूजा गर्दछन् । लेकमा पूजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा सुँगुरको पूजा गरेर आकाशे पानी माग गर्ने चलन रहेको छ । खडेरी भएपछि बाजागाजासहित होहल्ला र मूल पानीमा सुँगुरको पूजा गरेपछि वर्षा हुने जनविश्वास रहेको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।
आलु र मकै रोप्ने समय आएकाले आकाशे पानी नपरेपछि किसान चिन्तित भएका छन् । सरकारले सिँचाइ सुविधातर्फ ध्यान नदिएको किसानको गुनासो छ । तीन पालिका रहेको रुकुम पूर्वमा पुथा उत्तरगङ्गा र भूमे गाउँपालिकाका खाम भाषी मगर समुदायले लामो समयसम्म पानी नपरेपछि पानीको मूलमा सुँगुरको पूजा गरी आकाशे पानी माग्ने प्रचलन रहेको छ ।