अवैध रूपमा भित्र्याइएको कुखुराको मल्टिभिटामिन बरामद

जनपत्र
२६ फाल्गुन २०७७, बुधबार ०५:५६

मोरङको केशलिया खोलाको किनारबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको कुखुरालाई खुवाउने ठूलो परिमाणको मल्टिभिटामिन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्टका इन्चार्ज प्रहरी निरीक्षक दिलबहादुर पन्तको कमाण्डमा गएको टोलीले विराटनगर–१६ दरैयास्थित केशलिया खोलाको किनारबाट प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल मल्टिभिटामिन बरामद गरेको हो । उक्त मिटामिन चारओटा साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा टोलीले देखेपछि चारै जना साइकल छाडेर भारततर्फ भागेका थिए ।

बरामद भएकामध्ये सय एमएलको ४३३ बोतल, २०० एमएलको १४८ बोतल र ५०० एमएलको १४८ बोतल छन् । ठूलो परिमाणमा भित्र्याइएको भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरप ठूलै कारोबारीको हुन सक्ने आशंका गरिएको छ । सामान लिएर आउनेहरू भारतीय वा नेपाली को हुन् भन्ने यकिन भएको छैन । ब्रोइलर कुखुराको वजन बढाउन प्रयोग हुने मल्टिसोल अवैध रूपमा नेपाल भित्र्याइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । पोष्टका इन्चार्ज पन्तका अनुसार बरामद साइकल र भिटामिन भन्सार कार्यालयमा बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*