अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

जनपत्र
२५ फाल्गुन २०७७, मंगलवार ०७:११

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ । दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले दाहाल स्वतहः सो पार्टीको अध्यक्ष हुनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरू आआफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सोमबार बसेको दाहाल नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निर्वाचन आयोगमा अर्को नेपाल कम्युनिस्ट पार्टी दर्ता गराएका थिए ।

५ पुसमा विघटन गरिएको प्रतिनिधि सभालाई ११ फागुनमा सर्वोच्च अदालतले ब्युँताइदिएको थियो । तर, दाहाल–नेपाल समूहले सर्वोच्वको सो निर्णयलाई उत्सवकै रूपमा लिएर दीपावली नै गरेको भए पनि दाहाल–नेपालको सो खुसीसँगै सर्वोच्चको अर्को निर्णय दुःखका रूपमा परिणत भयो । आइतबार सर्वोच्च अदालतले नेकपालाई खारेज मात्रै नगरी एकता गर्ने भए अब नयाँ प्रक्रियाबाट यथाशक्य चाँडो निर्वाचन आयोगमा जान पनि भनेको छ । सर्वोच्चको यो निर्णयसँगै अब संसद्मा प्रधानमन्त्री ओली, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एमालेका सांसद भएका छन् । ओलीतिर लागेका रामबहादुर थापालगायतका नेता माओवादी केन्द्रका सांसद भएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै ओलीसँग सम्बन्धविच्छेद गरेर दाहालतिर लागेका नेपाल कानुनी रूपमा अब एमालेका सांसद भएका छन् । उनीमाथि अब ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईको ह्वीप पनि लाग्नेछ । यदि ह्वीप उल्लंघन गरेमा उनले सांसद पद नै गुमाउनुपर्नेछ ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव हाल्दै दाहाललाई प्रधानमन्त्रीका रूपमा सारेका नेता नेपालसँग अब दुईवटा विकल्प देखिएका छन् । अहिले उनी यिनै दुई विकल्पमाथि आफ्ना सहयोगी र नेता कार्यकर्तासँग संवादमा जुटेका छन् । वरिष्ठ नेता खनालले अब पूर्वएमालेमै फर्किएर ओली प्रवृतिविरुद्धमा लड्ने निष्कर्ष आफूहरूको रहेको बताए ।

नेता नेपालले अझै पनि नेकपाको एकता जोगाउने गरी आफूनिकट र दाहाल पक्षसँग छलफल गरेका छन् । सोमबार मात्रै नेता नेपालले काठमाडौंको अर्याल होटलमा आफूपक्षीय नेताहरूसँग छलफल गरेको नेकपा स्रोतले जनाएको छ । सो छलफलमा पनि सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले पहिलो ‘नेकपाकै एकता बचाइराख्ने’ र दोस्रो ‘ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने’ दुईवटा विकल्पमा कुरा गरेका थिए ।

आइतबार सर्वोच्चको निर्णयपछि नेता खनालले आफू एमाले नै भएको बताएका छन् । तर, दाहाल समूहका अध्यक्ष नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिह्न पनि खोसेर आफूहरूले लिने तर्क गरेका थिए । उनले भनेजस्तो अवस्था देखिएन । त्यहीँ कारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका छन् ।

ओलीलाई छाडेर पूर्वएमालेको ठूलो पंक्ति दाहालतिर लागेको थियो । नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब पूर्व एमालेमै फर्किने भएका छन् । दाहाल–नेपाल समूहका एक जना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइ राख्ने विकल्प नै पहिलो प्राथमिकता हुने बताए । उनले पहिलो एकता बचाउने उपायबारेमा छलफल भइरहेको बताएका छन् । ‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भन्ने विषयमा छलफल भयो, गैरेले भने, ‘अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’

अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले सबै विकल्पमा अहिले संवाद भइरहेको बताउँदै पार्टी एकता नयाँ तरिकाले अघि बढाउनुपर्ने बताए । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*