‘पार्टी ठूलो बनाउने, चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै हुँदा यो अप्ठ्यारो पर्‍यो’

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार १९:१७

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले विचार, सङ्गठन र नेतृत्वको ख्याल नगरि पार्टी एकता गरिएकाले समस्या भएको बताउनुभएको छ । एक सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गर्दाको समयमा ढङ्ग नपुगेका कारण समस्या भएको बताउनुभएको हो ।

विचार, सङ्गठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको रक्षा मन्त्री पोखरेको भनाइ थियो । आइतवारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले अब नेकपा एमालेले विचार, सङ्गठन अनि योग्य नेतृत्व राखेर नयाँ ढङ्गले पार्टी एकतालाई अघि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढङ्ग नपुराएकै हो । त्यही ढङ्ग नपुर्‍याएका कारण आज काँचै पल्टिएर बाहिर आयो । अब एकता गर्दा हामीले ढङ्ग पुर्‍याएर गर्नुपर्छ । सबै स्थिति मिलाएर उचित तरिकाले गर्नुपर्छ । हिजो एकता गर्दा विचार, सङ्गठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने, चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्‍यो । अब सर्वोच्च अदालतको फैसलापछि नयाँ ढङ्गले पार्टीलाई एकताबद्ध बनाउँछौँ । हिजोको जस्तो गरी राटो छोडेर, काँचो कट्मिरो राखेर एकताको कुरा हुँदैन । विचारमा खँदिलो बनाएर, सङ्गठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ ।’

केही समय अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरू पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेको नवौँ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरूलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरूलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान्, निस्के भने पनि कोही बात छैन, जानुहुन्छ ।’

उहाँले नेकपा एमाले सूर्य चिह्नसहित सबैलाई समेटर अघि बढ्ने बताउनुभयो । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने देशमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरूले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट असहयोग भएको दाबी उहाँले गर्नुभयो । प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै नागरिकले विश्वास गरेकाले उहाँको विकल्प खोज्ने विषय अस्वाभाविक भएको तर्क उहाँले गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा पुनर्स्थापनासँगै देशमा अस्वाभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रैका नेताहरूबाट भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले तमासा के रे भने आफ्नो झण्डै दुई तिहाइको समर्थनमा सरकार छ । त्यो सरकारको प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कसलाई बनाउने भन्दा बूढानीलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भइदेऊ भन्ने यस्तो घिनलाग्दो काम यही कम्युनिस्ट पार्टीभित्रका नेताहरूबाट भइरहँदा यो कति निन्दनीय कुरा हो यो ? कति दुखको कुरा हो यो ? कति निन्दनीय कुरा हो यो ? त्यस कारणले अहिले जुन विग्रह पैदा भएको छ । त्यस पछाडि सप्ताको लिप्सा, ईर्ष्या, कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।’

उहाँले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाइ गरेर राज्यका अङ्गहरूमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुःखद भएको बताउनुभयो ।

महिला अधिकार कसैले दिएर दिइने विषय नभएको उल्लेख गर्दै उहाँले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिला अधिकार कसैले दिएर दिइँदैन । यो श्रम र उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जमिनको लालपुर्जा दिँदा महिलाको नाममा हुँदा दस्तुर मिनाहा गर्ने खालको कुरा पनि प्रारम्भ भयो । जहिलेसम्म सम्पत्तिमाथि पुरुष सरह महिलाको अधिकार हुँदैन, त्यसबेलासम्म महिला स्वतन्त्र हुन सक्दैन । महिलाको मेहनतलाई श्रमको रूपमा नबुझ्ने हाम्रो परम्परा र बुझाइ छ । महिलाले घरभित्र गर्ने काम पनि ठूलो श्रम हो भनेर बुझ्नुपर्छ, त्यो नबुझेसम्म समानता हुँदैन ।’

आफूलाई ठूला घरानियाँ भन्नेहरूले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्तिमाथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले कतिपय ठूलाठूला मान्छेहरूका श्रीमतीको नाममा लालपुर्जा दिने अनि सम्पत्तिमाथि अधिकार छ भनेर देखाउने यस्तो गरेर हुँदैन ।’

मन्त्री पोखरेलले महिलामाथि हुने विभेद र हिंसा रोक्न सामाजिक सचेतना जगाउनुका साथै सम्पत्तिमाथि महिलाको पनि पुरुषसरह अधिकार स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*