अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला व्यवसायी सम्मानित

जनपत्र
२४ फाल्गुन २०७७, सोमबार १९:००

काठमाण्डौ – नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमवार चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले चार महिला व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गर्नुभयो ।

आईटी एण्ड इन्नोभेशन अवार्डबाट अदिति गोयल सम्मानित हुनुभएको छ । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित हुनुभएको छ । एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ । यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गर्नुभयो ।

विशेष समारोह आयोजना गरेको छ । काठमाण्डौमा भएको कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक राजनीतिक रूपान्तरणमा महिलाको महत्त्वपूर्ण भूमिका रहे पनि त्यसको वास्तविक सम्मान हुन नसकेको बताउनुभयो ।

‘संविधानले महिलालाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।’

दिनानुदिन बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तर्राष्ट्रियस्तरमा देशको छविसमेत धुमिल भइरहेको बताउनुभयो । ‘कुनै पनि समाजमा महिलाको अवस्था कस्तो छ भन्ने आधारमा त्यस समाजको प्रकृति र चरित्र थाहा हुन्छ’, उहाँले भन्नुभयो । उपराष्ट्रपति पुनले महिलाद्वारा सञ्चालित उद्दमको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*