कांग्रेसको नीति अझै ‘पर्ख र हेर’

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार ०६:३६

नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांगे्रसले आगामी सत्ता समीकरणबारे निर्णय नलिएको हो। सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेका छन्। अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्। सभापति देउवाले शुक्रबार संसदीय दलको बैठकमा सांसदका कुरा सुने। देउवाले बिहीबार पदाधिकारी, पूर्वपदाधिकारीसहित संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरूसँग छलफल गरेका थिए। देउवाले सत्ता समीकरणबारे निर्णय गर्नुपर्ने बेला आइनसकेको बताए। उनले बैठकको सुरुमै सांसदहरूलाई सत्ता समीकरणकाबारे नभई प्रतिपक्षी दलका रूपमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्न आग्रह गरेका थिए।

बैठकमा बोल्ने सबैजसो सांसदले सरकार गठनकै बारेमा बोलेका थिए। अधिकांशले सरकारमा जाने भए कांग्रेसको नेतृत्व हुनुपर्नेमा जोड दिए। ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भने सरकारमा जानुपर्छ भन्ने नै सबै सांसदको राय थियो’, सांसद डा। डिला संग्रौलाले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘निर्णय नै त भएन तर सबैको सुझाव सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै थियो।’

सांसदहरूले ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा जोड दिए। उनीहरूले कांग्रेस निरन्तर आन्दोलनमा रहेकाले यही सरकारसँग समीकरण गर्न नैतिक रूपमा पनि नमिल्ने तर्क गरे। ‘ओली सरकारसँग मिलेर जाँदा हामीले जनतालाई के जवाफ दिने रु, सांसद गगन थापाले भने, ‘ओलीसँग मिलेर सरकार बनाउने कुरा सोच्न पनि सकिन्न।’ उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर निष्कर्षमा पुग्न सभापति देउवालाई सुझाव दिए।

सांसद भीमसेनदास प्रधानले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए श्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिए। ‘सरकारमा जानै पर्छ भन्ने छैन। तर, कांग्रेस सरकारमा जानै पर्ने अवस्था आए सरकारको नेतृत्व गरेर जानुपर्छ’, प्रधानले भने, ‘अनि श्वेतपत्र पनि जारी गर्नुपर्छ।’ केही नेताले भने पार्टी प्रतिपक्षमै बस्नुपर्ने बताउँदै आएका छन्। आसन्न १४औं महाधिवेशनलाई लक्ष्य गरी देउवालाई प्रधानमन्त्री बन्न रोक्ने उद्देश्यले पार्टी सरकारमा जान नहुने धारणा आएको कतिपय नेताको दाबी छ।

सांसद मोहनप्रसाद पाण्डेले महाधिवेशन हेरेर सरकारको नेतृत्व गर्ने अवसरबाट पार्टीलाई वञ्चित गर्न नहुने बताए। ‘महाधिवेशनलाई हेरेर कांग्रेस सरकारमा जानु हुँदैन भन्न मिल्दैन। दलको नेता पार्टी सभापति शेरबहादुर देउवा हो। प्रधानमन्त्री उहाँ नै बन्ने हो,’ उनले भने, ‘भोलि महाधिवेशनमा प्रभाव पर्छ भनेर प्रधानमन्त्री बन्नबाट रोक्ने काम गर्नु हुँदैन।’महामन्त्री डा। शशांक कोइराला भने बैठकमा केही नबोली निस्किए। उनी कार्यक्रममा जानु छ भन्दै बाहिरिएका थिए। कोइरालाले दाहाल–नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताइसकेका छन्।

पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बोलाइएको छ। संसद् अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी भए पनि कांग्रेसले परिस्थिति हेरेर आवश्यक निर्णय लिने संकेत गरेको हो। नेकपाको दाहाल–नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजिरहेको छ। उसले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई स्वीकार गर्न सकिने पनि बताइसकेको छ। देउवाले भने सरकारमा जान कांग्रेसलाई हतार नरहेको भन्दै समय आएपछि मात्रै निर्णयमा पुग्ने बताउँदै आएका छन्। उनले संसदीय दलमा पनि सोही कुरा दोहोर्‍याए।

अहिले हतारमा निर्णय गर्नुहुन्न। नेकपाको दुई समूह संसद्मा कसरी प्रस्तुत हुन्छन्, त्यो हेरौं’, देउवाले भने, ‘हामी पार्टी फुटोस् भन्ने पनि चाहँदैनौं। हामीलाई सरकारमा जान पनि हतार छैन। त्यसैले हामीले सरकारको नेतृत्वभन्दा पनि संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्नुपर्छ।’ प्रमुख सचेतक बालकृष्ण खाणले सांसदहरूको सुझाव र सल्लाहलाई ध्यानमा राखेर पार्टीले अविश्वास प्रस्तावबारे उपयुक्त समयमा आवश्यक निर्णय लिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*