न्यूजिल्याण्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०७:२२

न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको त्यहाँको सरकारले जनाएको छ ।

राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको बताइएको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान थालेको बताइएको छ ।

सो भूकम्पपछि दक्षिण अमेरिकाका पेरु इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुनसक्ने बताइएको छ । गतहप्ता मात्र न्यूजिल्याण्डले ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको १० औं स्मृति दिवस मनाएको थियो । सो भूकम्पमा परेर दक्षिणी टापुमा रहेका चर्चहरु क्षतिग्रस्त हुँदा १८५ जनाको मृत्यु भएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*