कञ्चपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा एक भारतीय नागरिकको मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएपी मुकेशकुमार सिंहका अनुसार बिहीबार वेलुका पख लुकिछिपी भारतबाट लागुऔषध ल्याइरहेका भारतीय नागरिक र नेपाल प्रहरीबीच जम्काभेट हुँदा सीमा क्षेत्रमा गोली हानाहान भएको थियो।
पहिला तस्कर समूहले गोली चलाएको र जवाफी कारवाहीमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते भएका थिए। उनको बेलौरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसएसपी सिंहले बताए। मृत्यु हुनेमा भारतको पिलिभित थाना हजारा बुदान–४ बस्ने २६ बर्षीय गोविन्दा सिंह रहेको प्रहरीले जनाएको छ।
भारतीय नगरिकले चलाएको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल भारत सीमा नजिकै गोली हानाहान भएको एसएसपी सिंहले बताए। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाको कमाण्डमा थप टोली परिचालन गरिएको एसएसपि सिंहले बताए।