इन्द्रसरोवर गाउँपालिकाको अर्ध वार्षिक समिक्षा

मकवानपुर/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले अर्ध वार्षिक समिक्षा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा सम्पादन गरेका कार्यहरुको फाल्गुन १८ गते मार्खुमा समिक्षा गरिएको हो ।
गाउँपालिकाको विषयगत शाखाहरु कृषि विकास शाखा, पशु विकास शाखा, आर्थिक प्रशासन तथा राजश्व शाखा, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा, प्राविधिक, कानुन, वन, वातावरण तथा विपद व्यवस्थापन, मेड्पा, योजना, शिक्षा, स्वास्थ्य, प्रधानमन्त्री रोजगार कार्यक्रम र महिला विकास शाखा मार्फत भए गरेका कार्यहरुको शाखागत रुपमा प्रतिवेदन प्रस्तुत गरि समिक्षा गरिएको थियो । जस मार्फत हालसम्म सम्पादन भएका गतिविधि तथा प्रगतिहरुको प्रतिबेदन तयार हुनुका साथै आगामी लक्ष्य तथा योजनाहरुको जानकारी, कार्य सम्पादनमा भएका समस्या तथा चुनौतीहरुको समाधानका उपायहरूको सल्लाह र सुझाब सहित छलफल गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष जीवन लामाले छलफलमा उठेको महत्त्वपूर्ण प्रश्नहरु माथी जवाफ दिदै सम्पुर्ण कमि कमजोरीहरु माथी तत्काल गृहकार्य गरेर आगामी दिनमा कर्मचारीहरुको व्यवस्थापन र कारवाहीमा कडा रुपमा प्रस्तुत हुने बताए । साथै समिक्षामा आएका सुझाबहरुलाई सकारात्मक रुपमा लिई कार्यान्वयन तर्फ जोड दिने र आफुले गरेको कामको कर्मचारी सहित जनप्रतिनिधिलेहरुले समेत आत्म समिक्षा गरि आफै पनि सुध्रनु पर्ने कुरामा सुधार गर्न समेत आग्रह गरे । यस्तै उपाध्यक्ष उमा कुमारी लामाले गाउँपालिकामा भएका कामहरुको जस-अपजस सबैले लिनुपर्ने बताउँदै समिक्षामा उठेका प्रश्न, गुनासो र सवालहरु माथी सम्बन्धि सबैले तत्काल एक्सन लिएर समस्यालाई समाधान तथा कमि कमजोरीहरुलाई सुधार्न अनुरोध गरिन् ।
गाउँपालिकाको अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा सञ्चालन भएको समिक्षा कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा, वडाका अध्यक्षहरु, गाउँ सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सहित गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । थाहा टाइम्सबाट ।