अब अनलाइनबाटै छाउनी सङ्ग्रहालयको अवलोकन गर्न सकिने

काठमाडौँ( सङ्ग्रहालय छाउनीको आफ्नो ८२ औँ स्थापना दिवसका अवसरमा मुद्रा सङ्ग्रहालयको भवन थप भएको छ । सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले मुद्रा सङ्ग्रहालयका प्रमुख प्रतिमा रञ्जितलाई एक कार्यक्रमबीच आज नयाँ भवनको साँचो हस्तान्तरण गरे।
सो भवन राष्ट्रिय सङ्ग्रहालयको परिसरमा नै रहेको छ । तीन तलाको सो भवन २०७० सालको गोरखा भूकम्पपछि निर्माण थालिएको हो। भूकम्पका बेला मुद्रा सङ्ग्रहालय रहेको पुरानो भवन भत्केको थियो। मुद्रा सङ्ग्रहालयमा पाँचौँ शताब्दीदेखिका कागजी मुद्रासम्म सङ्ग्रह गरी प्रदर्शनीमा राखिएको छ। सङ्ग्रहालयमा इसापूर्व आठौँ शताब्दीमा प्रचलनमा रहेका मुद्रा पनि सङ्ग्रह गरिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुवाइमा सङ्ग्रहालयको भवन निर्माण गरिएको हो। सङ्ग्रहालय भवनलाई पूर्णता दिन पुनःनिर्माण प्राधिकरणसँग थप रु सात करोड बजेट माग गरिएको सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए।‘माग गरेअनुसाको बजेट विनियोजन भए सङ्ग्रहालयलाई संरचनागतरुपमा पूर्णता दिन सकिन्छ’, उनले भने। स्थापना दिवसका अवसरमा राष्ट्रिय सङ्ग्रहालयको प्रवेशद्वारको उद्घाटन गरिएको थियो।
कार्यक्रममा सङ्ग्रहालयभित्र रहेका ऐतिहासिक सम्पदाको अनलाइनबाटै अवलोकन गर्न सकिने ‘भर्चुअल रियालिटी म्यूजियम टुर’को शुभारम्भ गरिएको थियो। यससँगै अब अवलोकनकर्ताले जहाँबाट पनि जहिले पनि अनलाइनबाटै सङ्ग्रहालयको अवलोकन गर्न सक्नेछन्। राष्ट्रिय सङ्ग्रहालयको बेवसाइट मा गएर अवलोकनकर्ताले सङ्ग्रहालयको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सहप्राध्यापक डा मिलनरत्न शाक्यको ‘कला सम्पदा भाग–४’ को विमोचन गरेका थिए। सचिव कोइरालाले सङ्ग्रहालयलाई व्यवस्थित र विकसित ढङ्गले अगाडि बढाउनुपर्ने बताए। पुस्तकका लेखक शाक्यले बौद्ध आर्ट ग्यालरीमा बौद्ध धर्मसम्बन्धी विभिन्न कला समेटिएको बताए। सो पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा रहेको छ।