प्रविन बाँस्तोला हत्या प्रकरण: घरधनी रमेश गिरी पक्राउ

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०६:४४

मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक ९एसपी० सन्तोष खड्काले रातोपाटीलाई बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रविन आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रविन बास्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । मृतकका आफन्तले प्रहरी अनुसन्धानमा प्रश्न उठाएपछि डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिती गठन गरिएको छ । समितीले सोमबार प्रतिवेदन बुझाउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*