‘कांग्रेस कतै पनि छैन’–कांग्रेसका महामन्त्री सशांक कोइराला

रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान प्रदान
जनपत्र
१५ फाल्गुन २०७७, शनिबार १८:४६

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कुनै पनि दलको पक्षमा नलिएको प्रष्ट पारेका छन् । रेडियो मकवानपुरको बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लि.को स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा अझै पनि आधिकारिक रुपमा एक भएको भन्दै अहिले कुनै पनि पक्षमा नेपाली कांग्रेस नलागेको बताए ।

अहिलेको अवस्था महत्वपूर्ण र संवेदनशील रहेको भन्दै उनले अब संसदमा अवस्था कस्तो आउँछ सोही अनुसार कांग्रेस अघि बढ्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव समूहकी सांसद मुनु सिग्देलले नेपाली कांग्रेससँग मिलेर अघि बढ्न खोजिएको बताइन् । देशमा कांग्रेस र कम्युनिष्ट मिल्दा धेरै प्रभावकारी कामहरु भएको उल्लेख गर्दै उनले अझै पनि मिलेर अघि बढ्न सकिने बताइन् । उनले अझै पनि देश संकटमा रहेको भन्दै संयुक्त आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको औंल्याइन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अहिले पनि कानुनको उल्झनमा पारेर देशलाई थप अन्यौलताको अवस्थामा धकेल्ने प्रयास भइरहेको आरोप लगाए । कांग्रेस हिंशाको बाटोमा जान नचाहेकोले आन्दोलन नगरेको प्रष्ट पार्दै उनले शान्ति र विधि–प्रक्रिया अनुसार अघि बढ्ने बताए ।

सामुदायिक सम्मान प्रदान

रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान प्रदान गरिएको छ । समाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै २ जनालाई शनिबार सामुदायिक सम्मान प्रदान गरिएको छ ।

रेडियो मकवानपुरको बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लि.को स्थापना दिवसको अवसरमा मामाघर नेपालको संरक्षक अर्पण पराजुली र पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता र कविता प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

फुटसल प्रतियोगिताको विजेता टिम टेलिभिजनले नगद १५ हजार रुपैयाँ र उपविजेता रेडियो सन्देशले नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको छ । कविता प्रतियोगितामा प्रथम भएका जिएस निकेतनका सपर्मण न्यौपाने, दोश्रो भएका त्रिभुवन नमुना माविका सुजन ढुंगाना, तेश्रो भएका भानु माविकी जेनीसा चौंलागाई र सान्त्वना भएका शारदा माविकी कविना सञ्जेल र बालज्योति माविका रियाज कार्कीलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १/ १ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

यसैबीच, रेडियो मकवानपुरले उत्कृष्ट कर्मचारीको रुपमा सम्झना रिजाललाई सम्मान गरेको छ । रिजाललाई नगद ७ हजार रुपैयाँसहित उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । यस्तै, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरु कृष्ण अर्याल, रिपेश दाहाल, आशिष दुलाल र राममणि दाहाललाई सम्मान गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*