केपी ओली ध्रुबे हात्ती जस्तै भएः खतिवडा

हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, सरकार र पार्टी जताततै विधि विपरित आक्रमण गरी ध्रुबे हात्ती झैँ अराजक बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विरोध खतिवडाले बताउनुभएको छ ।
मंगलबार हेटौँडा १९ नेवारपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । ‘चितवन राष्ट्रिय निकुन्जमा एउटा ध्रुबे हात्ती थियो’, खतिवडाले भन्नुभयो–‘निकुन्जभित्र रहनु पर्ने त्यो हात्ती गाउँ बस्तीमा छिरेर मान्छे मार्ने, घर भत्काउने र सुँढ हल्लाउँदै अराजकता मच्चाउँदै हिँड्थ्यो, अहिले प्रधानमन्त्री पनि त्यस्तै काममा लागेका छन् ।’
विधि, पद्धति, प्रक्रिया, संविधान आदि सबै भुलेर आफू मात्रै शक्तिशाली, आफू मात्रै जान्नेसुन्नेका रुपमा बुझ्नु नै केपी ओलीको समस्या रहेको उहाँले बताउनुभयो । अब अदालत र जनताको बलमा हुने आन्दोलनले केपी ओली परास्त हुने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एबम बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले सरकारले फँट्याइँको सिमा नाघेको भन्दै प्रदेश सभा समेत बन्दी बनाएर ओली समूहले अराजनीतिक व्यवहार गरेको बताउनुभयो । नेकपा प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, जिल्ला सचिव प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला अध्यक्ष मुनु सिग्देलले जनताको आधारभूत तह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमा रहेकाले अब केपी ओली नेतृत्वको सरकारको भागभाग हुने बताउनुभयो । उहाँहरुले अदालत र आन्दोलनदेखि ओली डराएर आमसभामा अनेकन् शंका र आशंकाहरु व्यक्त गर्दै हिँडेको बताउनुभयो ।
कार्यक्रममा नेकपा हेटौँडा नगर इन्चार्ज श्रीधर पोखरेल, जिल्ला कमिटी सदस्य नवराज सुवेदी लगायतले ओली सरकारको विरोध गर्नु भएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी र नेपाली काँग्रेस परित्याग गरी १२० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध हुनु भएको छ ।
समाजवादी प्रदेश कमिटी सदस्यसहित १२० जना नेकपा प्रवेश
जनता समाजवादी पार्टीका बागमती प्रदेश सदस्य प्रकाश थोकरसहित नेपाली काँग्रेसका समेत गरी १२० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडा, केन्द्रीय सदस्य तथा सह इन्चार्ज बिरोध खतिवडा, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, विरबहादुर घलान ज्वाला, जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी छिन्तु लगायतले स्वागत गर्नु भएको थियो ।
जनता समाजवादी पार्टीको राम्रो बर्चश्व रहेको हेटौँडा १९ मा प्रकाश थोकरको टिमलाई शक्तिशाली टिम मानिन्छ । गत स्थानीय निर्वाचनमा तत्कालीन नयाँशक्ति पार्टी यो वडामा दोस्रो स्थानमा रहेको थियो ।
पार्टी प्रवेश गर्दै बागमती प्रदेश सदस्य प्रकाश थोकरले आफू पद र प्रतिष्ठाका लागि पार्टी नगरेको भन्दै जनताको आधारभूत वर्गको प्रतिनिधित्व गर्ने र सर्बहारा बर्गको हितका लागि बोल्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी नै रहेकाले त्यसैमा समाहित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पद भन्दा पनि एजेण्डामा सँधै कटिबद्ध भएर पार्टी पंक्तिमा उभिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।