व्यवसायलाई प्रविधिमैत्री बनाउँदै

जनपत्र
११ फाल्गुन २०७७, मंगलवार ०५:५५

नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वमा २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू। १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो । शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालदेखि संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ ।

संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित मात्र बीमा गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ ।

राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन । मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो ।

लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । अझै पनि संस्थानको आव २०६४र६५ देखिको साधारणसभा भएको छैन । यद्यपि, पछिल्लो समय संस्थानको अवस्था भने सुधारोन्मुख रहेको छ । बजारमा आफूभन्दा पछि आएका कम्पनीहरूले व्यावसायिक गतिविधि बढाएपछि संस्थान पनि आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा अगाडि बढ्न लागिपरेको छ ।

संस्थानको पछिल्लो ५ आवको वित्तीय विवरणले अधिकांश सूचक राम्रो हुँदै गएको देखाउँछ । बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ । संस्थानले हालसम्म रू। ५२ अर्बभन्दा बढी कुल बीमाशुल्क संकलन गरेको छ । त्यसमा चालू आवको पहिलो ६ महीनाको मात्रै ५ अर्ब ६८ करोड रहेको छ । बीमाशुल्क संकलन गर्ने मामलामा १९ कम्पनीमध्ये संस्थान तेस्रो स्थानमा छ ।

यस्तै, लामो समयदेखि हुन नसकेको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा पनि छिट्टै गर्ने संस्थानको योजना छ । संस्थानको आव २०६४र६५ यताको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा हुन बाँकी छ । संस्थानको आव २०७०र७१ देखि २०७३र७४ सम्मको बीमांकीय मूल्यांकनको प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । त्यसपछिका आवहरूको पनि बीमांकीय मूल्यांकन तथा लेखापरीक्षणको काम जारी रहेको संस्थानले बताएको छ ।

संस्थानले पछिल्लो समय पुराना समस्या समाधान गर्दै प्रविधिको विकासमा पनि उत्तिकै जोड दिइरहेको छ । समग्रमा संस्थान अहिले प्रविधिमैत्री व्यवसाय गर्नेगरी योजनाबद्ध रूपमा अगाडि बढेको प्रशासक कविप्रसाद पाठक बताउँछन् । पहिले संस्थानको प्रधान कार्यालयबाट मात्र बीमा पोलिसी जारी गर्न मिल्थ्यो । काठमाडौं बाहिरका बीमितलाई बीमालेख पाउनै ३ महीनासम्म लाग्ने गरेको थियो । तर, अहिले त्यस्तो अवस्था छैन । अहिले प्रत्येक शाखाबाटै बीमा पोलिसी जारी गर्न सकिन्छ । बीमा गरेको प्रमाण अर्थात् बीमा पोलिसी ग्राहकले आधा घण्टाभित्रै पाउन सक्छन् ।

यस्तै, संस्थानले ‘एसएमएस अलर्ट’ सेवा पनि सञ्चालन गरेको छ । पहिला ग्राहकले बीमा अभिकर्तामार्फत बीमाशुल्क बुझाए पनि त्यो रकम संस्थानमा पुग्योरपुगेन थाहा पाउन सहज थिएन । तर, अहिले ग्राहकको पैसा भुक्तानी भएको जानकारी एसएसएस अलर्ट मार्फत हुने गर्छ । साथै, यसबाट बीमितले अन्य जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ । संस्थानले आफ्नै मोबाइल एपको पनि शुरुआत गरिसकेको छ । त्यसमार्फत पनि ग्राहकले आफ्नो बीमा पोलिसी र संस्थानको सेवा सुविधाबारे थाहा पाउन सक्छन् ।

संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म डेस्कबेस्डमै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सवै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा पुराना तथ्यांक समावेश गर्ने काम पनि भइरहेको छ । अब संस्थानलाई प्रविधियुक्त बनाउने गरी अगाडि बढेको प्रशासक पाठक बताउँछन् । ‘संस्थानले लामो समयसम्म डेस्कबेस्डमा काम गरेको थियो । अहिले त्यस तथ्यांकलाई नयाँ सफ्टवेयरमा सार्ने काम गरेका छौं,’ उनले भने ।

अब अनलाइन मार्फत नै बीमाशुल्क भुक्तानी गर्ने लगायत व्यवस्था गर्न पनि संस्थान लागिपरेको छ । बीमा पोलिसी खरीद गर्दा ग्राहक कार्यालय अथवा अभिकर्तासम्म धाउन परे पनि बीमाशुल्कको किस्ता बुझाउने लगायत काम भने अनलाइन मार्फत नै गर्न सक्ने व्यवस्था गर्न लागिएको पाठकले जानकारी दिए । समग्रमा संस्थानको व्यवसायलाई प्रविधिमैत्री बनाउने गरी अघि बढेको उनले बताए ।

व्यवसाय बढाउने मामलामा समेत संस्थानले जोड दिएको छ । त्यसका लागि शाखा सञ्जाल विस्तार गर्ने, अभिकर्ताको संख्या बढाउने, अभिकर्तालाई तालीम दिने लगायत योजना ल्याएको छ । १ वर्षअघि संस्थानका शाखा १४ ओटा थिए । अहिले २२ पुगेको छ । चालू आवभित्रै इलाम र बागलुङमा पनि शाखा स्थापना गर्ने योजनामा संस्थान छ ।

यसैगरी नयाँ प्रडक्ट ल्याउने विषयमा कम्पनीले जोड दिएको छ । संस्थानले यसै वार्षिकोत्सवको अवसरमा सामूहिक म्यादी बीमाको पोलिसी जारी गर्दै छ । व्यक्तिगततर्फका बीमा योजना पनि बीमांकीय विश्लेषणको चरणमा रहेको प्रशासक पाठकले बताए ।

५४औं वर्षमा प्रवेश गरिरहँदा संस्थानलाई चुनौती र अवसर पनि उत्तिकै छन् । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन पनि चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन् । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

बीमा बजारमा संस्थानको उपस्थिति
नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष २०७७ पुस मसान्तसम्ममा रू। ३ खर्ब २३ अर्ब १८ करोडको छ । उक्त अवधिमा राष्ट्रिय बीमा संस्थानले ३१ अर्ब ७२ करोडको जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ९ दशमलव ८२ प्रतिशत हो ।

यस्तै चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १९ ओटा जीवन बीमा प्रदायकको संकलित बीमाशुल्क ६६ अर्ब १६ करोड रहेकोमा संस्थानको ५ अर्ब ६८ करोड छ । बीमाशुल्क संकलनमा तेस्रो स्थानमा रहन सफल यस संस्थाको बजार हिस्सा ८ दशमलव ५९ प्रतिशत छ । सोही अवधिमा कम्पनीहरूको ९१ लाख ५१ हजार ६८७ ओटा बीमालेख संख्या जारी भएका छन्, जसध्ये ७ लाख ३५ हजार ८१९ सहित संस्थान पाँचौं स्थानमा रहन सफल भएको छ ।

बीमा संस्थानका बीमा योजनाहरू

सावधिक जीवन बीमा योजना र दोहोरो दुर्घटना
लाभसहितको सावधिक जीवन बीमा
बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा
अग्रिम भुक्तानी जीवन बीमा
आजीवन जीवन बीमा
बालबच्चाको जीवन बीमा लेख ‘वात्सल्य’
पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’
‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा
‘बाल उमंग’ जीवनबीमा
‘जीवनबन्धु’दोहारो लाभ जीवन बीमा
म्यादी जीवन बीमा
सामूहिक सावधिक जीवन बीमा
राष्ट्र सेवक सावधिक जीवन बीमा
लघु जीवन बीमा अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*