यी हुन् भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना, अन्तिम पत्रमा यसो भनेका थिए…

चीनले भारतको लद्दाख नजिकैको गलवान उपत्यकामा गतवर्षको जुन १५ मा भएको झडपमा आफ्नो सेनाको पनि मृत्यु भएको पुष्टि गरेको छ। आठ महिनाअघि भएको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको सार्वजनिक भए पनि चिनियाँ सैनिकको मृत्यु भएको जानकारी पहिलोपटक खुलासा गरिएको हो।
शुक्रबार चीनको मुखपत्र ग्लोबल टाइम्सले सो झडपमा चार चिनियाँ सेनाको मृत्यु भएको जानकारी दिएको छ। राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षामा खटिएर भारतसँग लडेका ती सैनिकको गलवान भ्यालीमा ज्यान गएको ग्लोबल टाइम्समा उल्लेख गरिएको छ। भारतका २० र चीनका चार सैनिकको ज्यान जानेगरी भारत र चीनबीच भएको यो भिडन्तलाई यी दुई छिमेकीबीच विगत ४५ वर्षमा भएको सबैभन्दा ठूलो सीमा तनाबका रुपमा लिइएको छ।
चीनले आफ्ना चार मात्र सेनाको मृत्यु भएको बताएपनि हालै भारतीय सेनाका लेफ्टिनेन्ट जनरल योगेश कुमार जोशीले सीएनएन न्युज १८ सँग गलवानको झडपमा ४५ चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेका थिए। यसैबीच भारतीय सेनासँगको झडपमा मारिएका चार चिनियाँ सेनाको पहिचान पनि खुलाइएको छ। सीजीटीएनका अनुसार उनीहरुको पहिचानसँगै उनीहरुको अन्तिम पत्रमा लेखिएको विषय पनि सार्वजनिक गरिएको छ।
अन्तिम पत्रमा चार चिनियाँ सेनाले के भनेका छन्
सीजीटीएनमा प्रकाशित समाचार अनुसार भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो सियुआन र चेन सियाङरोङ हुन्। देशको रक्षा गर्दागर्दै उनीहरुले ज्यान गुमाएको समाचारमा जनाइएको छ। उनीहरुको अन्तिम पत्र पनि सार्वजनिक गरिएको छ। अन्तिम पत्रमा चेन हङजुनले श्रीमतीलाई भनेका थिए,‘जब म सेवानिवृत्त हुन्छु, म हाम्रो सन्तानको राम्रो हेरचाह गर्नेछु, खाना पकाउनेछु र तिमीसँग माछा मार्न जानेछु।’
यस्तै २३ वर्षका चिनियाँ सेना वाङ जुओरानले आफ्नो अन्तिम पत्र आमा र बुबाप्रति समर्पित गरेका थिए। उनले भनेका थिए,‘आमा बुबा, म तपाइँहरुसँगै सँधै रहिरहन सक्दिन होला। तर यदी अर्को जन्म पाएछु भने तपाइँहरुकै छोरा भएर जन्मिन पाउँ।’ सिआवो सियुआनले आफ्नो पत्र प्रेमिकाको लागि लेखेका थिए। उनले आफूले जीवनभर प्रेमिकाको लागि खाना पकाउने पत्रका उल्लेख गरेको जनाइएको छ।आफ्नो पर्समा प्रेमिकाको फोटो राखेका उनले उनीसँगै विवाह गर्ने वाचा गरेका थिए। १८ वर्षका चिनियाँ सेना चेन सियाङरोङले आफ्नो अन्तिम पत्रमा देशभक्ति विचार व्यक्त गरेका रहेछन्। उनले लेखेका छन्,‘मेरो चोखो माया मातृभूमि चीनको लागि समर्पित गर्दछु।’
गलवान झडपको विषयमा दुवै देशबीच आरोप–प्रत्यारोप
गलवान उपत्यकामा भएको झडपको विषयमा दुवै देशले एकअर्कालाई जिम्मेवार ठहर्याउँछन्। चिनियाँ सेनाले भारतीय सेनाले एलएसीको यथास्थितीको अवस्था परिवर्तन खोजेका कारण झडप भएको बताउँछ भने र भारतीय सेनाले चिनियाँ पक्षले आफू नियन्त्रित एलएसी प्रवेश गरेका कारण झडप भएको बताउँछ। एलएसीमा भारत र चीनबीच हतियार प्रयोग गर्न नमिल्ने सहमति भएको छ। त्यहाँ बन्दुक प्रयोग गर्न मिल्दैन। त्यकारण त्यहाँ धक्कामुक्की हुँदै आएको छ।
तर गलवान उपत्यकामा गतवर्ष उनीहरुले रड, ढुंगा, तारले बेरिएको डन्ठाहरु प्रयोग गरेको पाइएको थियो। भारत र चीनबीच लद्दाख, उत्तराखण्ड–हिमाचल तथा अरुणाचल गरी तीन क्षेत्रमा औपचारिक रुपमा सीमा निर्धारण गरिएको छैन। जसमध्ये भारतको लद्दाखदेखि चीनको तिब्बत र सिनजियाङ बिचका ४ हजार ५७ किलोमिटरका क्षेत्रहरु पनि सिमांकन भएका छैनन्।यो सिमांकन नभएको क्षेत्रलाई वास्तविक नियन्त्रण रेखा एलएसी भनिएको छ। त्यहाँ मात्र मौखिक सहमति भएको छ। उनीहरुले आफ्नो क्षेत्र मौखिक रुपमा मात्र तोकेका कारण दोहोरिदै झडप हुने गरेको हो। एजेन्सीहरुको सहयोगमा