बागमतीमा दुइ चरणमा एक लाख २८ हजार २४६ जनाले कोरोना बिरुद्धको खोप लगाए

हेटौंडा । बागमती प्रदेशमा दुइचरणमा गरेर एक लाख २८ हजार २ सय ४६ जनाले कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा यस प्रदेशमा ६७ हजार ३ सय ५६ जना र दोस्रो चरणको सात दिन सम्मको अवधिमा ६० हजार ८ सय ८९ जनालाई खोप लगाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।
दोस्रो चरणमा सरकारले सुरक्षाकर्मी, स्थानीइ तहका जनप्रतिनिधि, पत्रकार लगायतकालाई खोप लगाइरहेको छ । मकवानपुर जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु २ हजार ६ सय २४ जना रहेका छन् ।
बागमती प्रदेशमा दोस्रो चरणमा एक लाख ५ हजार ८ सय १७ जनामा खोप लगाउने लक्ष अनुसार आज सम्म आधा भन्दा धेरैले खोप लगाइएको छ । यस प्रदेशमा ३७ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप लगाइरहेको छ । यस प्रदेशको काठमाण्डौ उपत्यकामा सबै भन्दा धेरै जनामा कोरोना बिरुद्धको खोप लगाइएको सेढाईले जानकारी दिनुभयो । हिजो एकै दिनमा ४ हजार ५ सय ५३ जनामा कोरोना बिरुद्धको खोप लगाइएको छ ।