अमेरिकी अन्तरिक्षयान पृथ्वीबाट उडेको ७ महिनापछि मंगलग्रहमा सफल अवतरण

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार ०७:३८

अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरेन्स रोभर नामक सो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यालिफोर्नियास्थित नियन्त्रण कक्षमा अन्तरिक्ष यानको सफल अवतरणसँगै वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन् । वैज्ञानिकहरु मिसन सफल भएकोमा खुसीले चिच्याएका थिए । नासाले मंगलग्रहमा अन्तरिक्षयान अवतरण गरेपछि खिचेका केही तस्वीरहरु पनि सार्वजनिक गरिसकेको छ । यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको सो रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो । मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*