इन्धनमा मूल्यवृद्धिको चौतर्फी विरोध

नेपाल आयल निगमले एक महिनामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले लगातार मूल्य बढाउँदा त्यसको विरोध भएको हो । निगमले मंगलबार डिजेल, पेट्रोल र हवाई इन्धन ९आन्तरिक०को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएसँगै उपभोक्तावादी संघसंस्था र विद्यार्थी संगठनले विरोध गरेका हुन् । निगमले ५ माघ र २८ माघमा पनि इन्धनको मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेर आएको भन्दै पुनः ४ फागुनमा इन्धनको मूल्य बढाएको छ । लगातार इन्धनको मूल्य बढाउँदा त्यसको मार उपभोक्तालाई पर्न गएको भन्दै बढाइएको मूल्य फिर्ता लिनुपर्ने उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना इन्धनको मूल्य बढ्दा आपूर्ति प्रणालीमा असर भइ बजारमा खाद्यान्न, यातायातको भाडा बढ्ने हुँदा त्यसको मार उपभोक्तालाई पर्ने बताउँछन् । “निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा कर असुल गरिरहेको छ,” उनले भने, “स्वचालित मूल्य प्रणाली विपरीत बढाएको मूल्य तत्काल फिर्ता लिनुपर्छ ।” इन्धनको मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ । इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउन चलखेल गर्छन । ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यलगायत अन्य वस्तुको पनि मूल्य बढ्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
उपभोक्तालाई अनावश्यकरुपमा लगाइएको कर खर्च नभई थन्किएकोले हटाउनका लागि निगमले पहल गर्नुपर्ने उनको भनाई छ । निगमले उपभोक्ताबाट उठाएको रकम मूल्य स्थिरिकरण कोषमा ११ अर्ब जम्मा भएको छ । लगातार मूल्य बढेपछि उपभोक्तालाई अतिरिक्त भार पर्ने भन्दै निगमले प्रतिलिटरमा एक प्रतिशतका दरले उठाउँदै आएको छ । तर कोषको रकम व्यवस्थापन नगरी इन्धनको लगातार मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको छ ।
निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले उच्च घाटामा गएपछि आर्थिक वर्ष २०७१/७२ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । तर, निगमले मूल्य घट्दा नघटाउने र बढ्दा तत्काल बढाउने गर्छ । यसपटक पनि निगम आफैँले लागू गरेको स्वचालित मूल्य प्रणाली उल्लंघन गरेर इन्धनको मूल्य बढाएको छ ।
इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य बढाउने गर्छ । तर निगमले मूल्य समायोजन भने आफनो तरिकाले गर्ने गर्छ । निगम प्रवक्ता वीनितमणि उपाध्याय लगातार मूल्य बढेर आएकाले घाटा थेग्न नसक्ने अवस्थामा पुगेपछि मूल्य बढाउनु परेको बताउँछन । मूल्य नबढाउँदा १ अर्ब १५ करोड घाटा पुगेको थियो । उनका अनुसार प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाउँदा पनि निगमलाई अझै १५ दिनमा ८७ करोड घाटा रहेको छ । मासिक रूपमा आइओसीलाई १६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएकाले मूल्य स्थिरिकरण कोषमा रहेको रकमले ४ महिनालाई पनि नपुग्ने उनको भर्ना छ ।
पेट्रोलियम पदार्थमा लगाइएको करको कारणले पनि इन्धनको मूल्य बढ्न गएको निगमको भनाइ छ । आईओसीबाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ । यसमा सरकारले मूल्य अभिवृद्धि कर ९भ्याट० सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व कर रहेको निगमको अधिकारीको भनाइ छ ।
निगमलाई मंगलबार प्रतिलिटरमा २ रपैयाँ मूल्य बढाउँदा पेट्रोलमा प्रतिलिटर ५।८२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४।१३ रुपैयाँ नोक्सान छ । मटीतेलको नाफा घटेर प्रतिलिटर २१।५२ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २।३२ रुपैयाँ तथा बाह्य हवाई इन्धनको ३४।१९ रुपैयाँमा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५।८३ रुपैयाँ घाटाको अवस्था रहेको निगमले जनाएको छ । आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यअनुसार समायोजन गर्दा निगमले मंगलबार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको आन्तरिक मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएको छ । कोभिड–१९ महामारीसँगै विश्वमा तेलको माग घट्दै जाँदा मूल्य न्यूनतम अवस्थामा पुगेको थियो । २०२० अप्रिल २१ मा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य सबैभन्दा कम १९।३३ डलर प्रतिब्यारेलसम्म झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सो मूल्य रहँदाको समयमा भारतीय आयल कर्पोरेसनले नेपाललाई पठाएको मूल्यभन्दा अहिलेको मूल्य दोब्बर भन्दा बढी पुगिसकेको छ ।