सार्वजनिक स्थलमा जडित अधिकांश सीसीटीभी बिग्रिए

चितवनका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् । जिल्लामा हालसम्म ४० ओटा सीसीटीभी सडकमा जडान भएका छन् । तीमध्ये १४ ओटामात्र सञ्चालनमा छन् । सीसीटीभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ । जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको आवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर महानगरपालिकाका २९ स्थान, रत्ननगरपालिकाका सात स्थान र खैरहनीका ६ स्थानमा थप सीसीटीभी क्यामेराको आवश्यकता पहिचान गरिएको हो ।
थापाका अनुसार सीसीटीभीको अभाव हुँदा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । सडकमा जडान गरिएका सीसीटीभीको कन्ट्रोल रूम प्रहरी कार्यालयमा राखिन्छ । तर सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ । स्थानीय सरकार तथा संघीयता आउनुअघि विभिन्न संघसंस्था तथा सडक डिभिजनको समन्वयमा सीसीटीभी जडान गर्ने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन । चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम हुनै सकेको छैन । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले सीसीटीभी राख्ने जिम्मेवारी महानगरपालिकाको नभई सडक विभागको भएको बताए । बिग्रेको कुरा जानकारी गराएमा अन्य निकायसँग मिलेर मर्मतसम्भारमा समन्वय गर्न सकिने उनको भनाइ छ । यद्यपि सडक डिभिजन कार्यालयका प्रमुख कृष्णराज अधिकारीले स्थानीय सरकार आएपछि यो काम स्थानीय निकायको भएको बताए । ‘अरु जिल्लामा पनि स्थानीय निकायले नै त्यो काम गरिरहेका छन्,’ उनले भने । रासस