प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबुलकारको शिलान्यास

३ किलोमिटर लामो लुम्बिनी केबुलकारको शिलान्यास शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । निजी क्षेत्रका दुई ठूला लगानीकर्ताको संयुक्त लगानीमा बन्न लागेको लुम्बिनी केबुलकारको शिलान्यास भएसँगै निर्माणले गति लिने लगानीकर्ताहरूको विश्वास छ । केबुलकारको सुरु बिन्दु बुटवलको बमघाट ९चिडियाखोला० मा शिलान्यास गर्दै प्रधानमन्त्रीले ओलीले मुलुकको विकास निर्माणमा निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले लगानीका लागि सघाउन जग्गा उपलब्ध गराउने, बाटो निर्माणलगायतका पूर्वाधार बनाएर विकास निर्माणमा सरकारले सहकार्य गर्ने जानकारी दिनुभयो । आइएमई ग्रुप र शर्मा एन्ड कम्पनी मुख्य लगानीकर्ता रहेको उक्त केबुलकारको सुरु बिन्दु बुटवलको बमघाट ९चिडियाखोला० हुँदै पाल्पाको वसन्तपुर डाँडासम्म पुग्नेछ । होटल, रेस्टुराँ तथा मन्दिरजस्ता संरचना बनाउने योजना अघि सारेको कम्पनीले ती संरचना निर्माण गर्न रु। ३ अर्ब ५० करोड खर्चिनेछ । लुम्बिनी केबुलकार कम्पनीलाई सरकारले २५ वर्षसम्मका लागि रूपन्देही र पाल्पा जिल्लाअन्तर्गतको राष्ट्रिय वनको कुल ६ दशमलव २७ हेक्टर जमिन उपभोग गर्न स्वीकृति दिइसकेको छ ।
गत साताको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै केबुलकारको शिलान्यास भएकाले निर्माण तीव्र गतिमा अगाडि बढ्ने मुख्य लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । कार्यक्रममा उनले लुम्बिनी क्षेत्रलाई नेपालको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले परियोजना सुरु गरिएको जानकारी दिए ।
केबुलकारका अर्का लगानीकर्ता शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले शिलान्याससँगै अबको २ वर्षभित्र केबुलकार निर्माण गरिसक्ने गरी काम अघि बढ्ने बताए । केबुलकार निर्माणपछि पाल्पालाई आन्तरिक र धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सिद्धबाबा मन्दिर र कामाख्या देवीको मन्दिर पनि निर्माण हुने शर्माको भनाइ छ ।