सुनसरी : बिजुली चोरी गर्ने ३५ जना कारबाहीमा, तीन लाख जरिवाना असुल

जनपत्र
१ फाल्गुन २०७७, शनिबार १२:०५

सुनसरी – हुक गरेर बिजुली चोरेको आरोपमा सुनसरीमा ३५ जना पक्राउ परेका छन् । नेपाल प्रहरी, सशस्त्र र विद्युत कार्यालयका कर्मचारीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ का रामकुमार चौधरी, भोक्राहा नरसिंह गाउँपालिका–७ का विजय यादव, कोशी गाउँपालिका–६ का चन्दन यादव, इनरुवा नगरपालिका–८ का रामचन्द्र मण्डलसहित ३५ जनालाई एकैपटक पक्राउ गरिएको टोलीले जनाएको छ । उनीहरुलाई जनही ११ हजार ८३० रुपैयाँ गरेर कुल तीन लाख ७८ हजार २४० रुपैयाँ जरिवाना तिराइएको नेपाल विद्युत प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो ।

‘सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ, यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो । गैरकानुनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गर्नु परेको प्रमुख साहको भनाइ छ ।

आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको छ । प्रमुख साहले बत्ती बाल्ने र महसुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

उहाँले यसकार्यअन्तर्गत विद्युत् महसुल नतिर्ने १२२ को लाइन काटिएको बताउनुभयो । लाइन काटिएका ग्राहकबाट अहिलेसम्म कुल ३३ लाख ६६ हजार रुपैयाँ असुलउपर गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*