कुलेखानी—३ को सुरुङ परीक्षण

प्रताप विष्ट
२ बैशाख २०७६, सोमबार ०८:२५

हेटौंडा — कुलेखानी–३ जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबारदेखि पानी पठाएर परीक्षण गरिएको छ । परीक्षणका लागि प्रतिसेकन्डमा १ सय १५ लिटर पानी पठाउने गरेको आयोजनाले जनाएको छ ।आयोजनामा २ सातादेखि सिभिल परीक्षण हुँदै आएको छ ।

‘केही दिनभित्रमा इलेक्ट्रो मेकानिकल परीक्षण सुरु हुन्छ,’ आयोजना प्रमुख सुभासकुमार मिश्रले भने, ‘केही मसिना काम गरिँदै छ, परीक्षण पनि सँगसँगै हुन्छ ।’तीन वटा टावर निर्माण गर्नुपर्नेमा २ वटा बनिसकेका छन् । एक साताभित्र अर्को टावरको निर्माण सकिने आयोजनाका एक प्राविधिकले बताए । ‘तीनवटै टावर निर्माण भएपछि तार तान्ने काम सुरु हुन्छ,’ उनले भने । इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङले हुलासलाई काम गर्ने जिम्मा दिएको छ ।

एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन कुलेखानी–३ जलविद्युत् आयोजनाले पछिल्लो समय पुस महिनामा परीक्षण उत्पादन गर्ने भनिएको थियो । आयोजनाका अधिकृतहरूका अनुसार इलेक्ट्रोमेकानिकलको जिम्मा लिएको जियालिङ कम्पनीले विभिन्न बहाना बनाएर ढिलासुस्ती गरेकाले समयमा निर्माण कार्य सम्पन्न नभएको हो ।

प्राधिकरण र स्थानीयको अवरोधले काममा ढिलाइ भयो । उक्त आयोजनाको निर्माण कार्य २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ तारेखमासुरु भएको थियो । २ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । अहिले लागत वृद्धि भएर ४ अर्ब ६३ करोड पुगेको छ ।

भैंसेस्थित सानुटारको विद्युत् गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले ४० दशमलव ६५ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । आयोजनाको पूर्वाधारका रूपमा रहेको राप्ती खोलाको १ सय २९ मिटर लामो पुलको निर्माण कार्य ९ वर्षअघि नै सम्पन्न गरिएको थियो ।

यसमा कुलेखानी दोस्रो तथा स्थानीय खोलाको पानी संकलन गरी सुरुङमार्फत पावरहाउसमा पानी पुर्‍याएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

पावरहाउससम्म पानी पुर्‍याउन साढे चार किलोमिटर लामो सुरुङ खनिएको छ । पावरहाउसबाट आधा किलोमिटर प्रसारण लाइन विस्तार गरी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सकिने प्राधिकरणले जनाएको छ ।

कुलेखानी–३ बाट विद्युत् उत्पादन भएपछि मकवानपुरबाट मात्र १ सय २८ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुलेखानीबाट मात्र १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ । वाग्मतीबाट २२ मेगावाट विद्युत् उत्पादन भएर विद्युतको राष्ट्रिय प्रसारणमा जडान भइसकेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*